थप उपचारका लागि क्रिकेटर भण्डारीलाई काठमाडौं ल्याइयो

काठमाडौं । दुर्घटनामा परी घाइते भएका क्रिकेट खेलाडी ललित भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

आइतबार गृहजिल्ला कञ्चनपुरको झलारीमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

मोटरसाइकल दुर्घटनामा परेका भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याइएको हो ।

धनगढीबाट महेन्द्रनगर जाँदै गर्दा उनी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई से १ ख १३२४ नम्बरको मिनिट्रकले ठक्कर दिएको थियो ।

भण्डारीको दाहिने खुट्टा र दाहिने हात भाँच्चिएको छ । छाती र अन्य भागमा समेत चोट लागेकाले थप उपचारका लागि काठमाडौं ल्याउनुपरेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन् ।