सेवा हेर्दा- ‘ढिलो भनेकै वर्ल्ड लिंक’

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले आज आफ्नो २५औँ वार्षिकोत्सव मनाइरहेको छ । उसको नारा नै छ ‘छिटो भनेकै वर्ल्ड लिंक’ ।

विडम्बना उसको सेवाको अवस्था हेर्ने हो भने ‘ढिलो भनेकै वर्ल्ड लिंक’ भन्दा फरक नपर्ने सेवाग्राही बताउँछन । सेवाग्राहीलाई भनिएको भन्दा कम स्पिडको सेवा दिनु वर्ल्ड लिंकको नियतजस्तै देखिन थालेको छ ।

२० एमबीपीएस क्षमताको नेट स्पिड भनेर लिएको सेवामा मुस्किलले ६, सात एमबीपीएस क्षमताको सेवा प्रवाह गर्ने गरेको गुनासो सेवाग्राहीको छ ।

यद्यपि वर्ल्ड लिंकले आफूलाई नेपाको सबभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र तेस्रो ठूलो दूरसंचार कम्पनी दावी गर्ने गरेको छ । तर मैतीदेवीमा सात वर्षदेखि वल्ड लिंकको सेवा लिंदै आएका एस योगी भनेजस्तो सेवा पाइने नगरेको गुनासो गर्छन ।

‘पटकपटक कम्प्लेन गर्दा पनि राउडर स्वीचअफ गर्नुस, स्वीचअन गर्नु भन्छन,’ उनले भने, ‘त्यति गर्दा पनि अवस्था सुध्रिँदैन, अनि हामी यतैबाट हेरिदिन्छौँ भन्छन, तर कहिल्यै सुधार भएको हुँदैन ।’

तर बेला बेलामा सिस्टम परिवर्तनका नाममा कहिले राउटर बदल्नु पर्ने त कहिले केबल फेर्नुपर्ने झण्झट भने कम्पनीले थपिदिने गरेको उनको गुनासो छ ।

उनीजस्तै तमामौँ ग्राहकले वर्ल्ड लिंकले भनेकोजस्तो सेवा प्रवाह नगरेको गुनासो टिपाउने गरेका छन । भन्ने बेला २०, ३० एमबिपिएस क्षमताको नेट सेवा दिन्छौँ भने पनि सेवा प्रवाह भने निकै कम स्पिडको हुने गरेको सेवाग्राहीले बताए ।

नेपालको समग्र इन्टरनेट सेवाको ४३ प्रतिशत ओगटेको, सूचना प्रविधि क्षेत्रको सबभन्दा ठूलो करदाता र रोजगारदातको दावी गर्ने वर्ल्ड लिंकमा गुनासो टिपाउन पनि लामो समयसम्म फोन रेस्पोन्न नहुने, लकडाउनको अवधिमा पनि भुक्तानीका लागि समय मार्जिन नदिई नेट काटिदिने नीति अबलम्बन गरिएको गुनासो ग्राहकहरुको छ ।