स्वास्थ्य नीति आउँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्ने गरी स्वास्थ्य नीति २०७५ ल्याउने तयारी भइरहेको बताए ।

स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश नं ३ को आज काठमाडौँमा भएको पहिलो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री यादवले पहिलोपटक स्वास्थ्य नीति ल्याउन लागिएको जानकारी दिए । उनले व्यवस्थित अस्पताल निर्माण गरी गुणस्तरीय स्वास्थ्य सेवा दिने कुरालाई अब ल्याउन लागिएको नीतिले सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

छात्रवृत्ति प्राप्त स्वास्थ्यका विद्यार्थीमध्ये ९० प्रतिशत विदेशीने गरेको प्रसङ्ग जोड्दै राज्यमन्त्री यादवले यसलाई रोक्नका लागि नीति महत्वपूर्ण भएको बताए ।

“नीतिका विषयमा अहिले विभिन्न निकायसँग छलफल भइरहेको छ,” उनले भने । उनले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको उल्लेख गर्दै मन्त्रालयले समाधानको प्रयास जारी राखेको बताए ।

कार्यक्रममा मधेशी स्वास्थ्यकर्मी फोरमका केन्द्रीय अध्यक्ष बालकिशोरप्रसाद यादवले अहिले सरकारले ल्याएको समायोजन विधेक स्वास्थ्य क्षेत्रका कर्मचारीको हितमा नरहेकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिए ।