अन्तर्राष्ट्रिय नाका असोज ३० सम्म बन्द

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमानाका असोज ३० गतेसम्म बन्द राख्ने निर्णय गरेको छ ।

यसअघि भदौ ३१ गतेसम्म सीमा बन्द गर्ने निर्णय भएकामा कोभिड १९ को सङ्क्रमणलाई ध्यान दिँदै असोज ३० सम्म अवधि थप गरिएको सरकारका प्रवक्ता मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार समस्यामा परेका नेपालीलाई भने आउनका लागि भारतसंँग सीमा जोडिएका १२ प्रमुख नाकाबाट प्रवेश गर्न दिइएको छ ।

यसअघि १० नाका खुला गरिएकामा मन्त्रिपरिषद् बैठकले थप दुई नाका इलामको पशुपतिनगर र दार्चुलाको खलंगा नाकाबाट पनि मानिस आउनका लागि निर्णय गरेको छ ।

यस्तै चीनतर्फको रसुवाको नाकाबाट पनि प्रवेशका लागि अनुमति दिने निर्णय सरकारले गरेको उनले बताए । उनले सङ्क्रमण बढ्दै गए स्थानीय प्रशासनलाई स्थानीय ऐनअनुसार थप निर्णय गर्ने अधिकार दिइएको जानकारी दिए ।