सिंगारिँदै राष्ट्रिय सम्पदा, के थियो रानीपोखरीको इतिहास ?

काठमाडौं । २०७२ वैशाख १२ को भूकम्पपछि क्षतविक्षत भएको राष्ट्रिय सम्पदा रानीपोखरी पुनःनिर्माणपछि पानी भरेर सिंगारिँदै छ। काठमाडौं मध्य भागमा रहेको मानव निर्मित यो पोखरी राजा प्रताप मल्लले छोराको निधनले शोकाकूल रानीलाई खुसी पार्न इश्वि संवत १६६५ निर्माण गरेको मानिन्छ ।

सुन्दर पोखरीको पूर्वमा राणा प्रधानमन्त्री श्री ३ बीर शमशेर राणाले बनाएको घण्टाघर, राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर राणालेबनाएको त्रि चन्द्र कलेज छ्न् ।

पश्चिममा नेपालकै सबै भन्दा पुरानो दरबार हाईस्कूल छ । उत्तरमा बिश्वज्योती सिनेमाघर जुन अहिले आधुनिक भवन बनाइएको छ भने दक्षिणमा रत्न पार्क छ। रानी पोखरीको बिचमा बालगोपाल महादेवको मन्दिर छ।

यो मन्दिर वर्षमा तिहारको भाइटिकाको एक दिन मात्रै खुल्ला हुने प्रचलन छ। भूकम्प गएदेखि भने यो बन्द अवस्थामा थियो। पुनःर्निमाणको लामो विवादपछि यो पोखरी अहिले निर्माणको अन्तिम चरणमा छ।

पुनर्निमाणसँगै पानी भरिएपछिको रानीपोखरी

पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए।

एकसय ८० मिटर लम्बाइ र १४० मिटर चौडाइ क्षेत्रमा बनेको पोखरीको विसं १९९०को भूकम्पमा पनि मन्दिरको गजुर भत्केको थियो। त्यसबेला जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिएका हुन्।

२०७२ साल बैशाख १२ गतेको ७. ८ रेक्टरको बिनाशकारी भूकम्पमा मन्दिरको गजुरसहित मन्दिर क्षति भएको थियो। भूकम्प गएको एक वर्षपछि यसको पनुर्निमाणको काम सुरु भएको हो।

रानीपोखरीको बीचमा रहेको यमलेश्वर (बालगोपालेश्वर) मन्दिर परम्परागत मान्यताअनुसार वर्षको एकदिन भाइटीकामा मात्रै खुल्ने गर्दछ।