संस्मरण : मनभरी दमौली काव्यउत्सवको सम्झना

-टीका सापकोटा

नेपाली लेखक संघ तनहुँको आयोजनामा दमौलीमा प्रदेश स्तरीय स्रष्टा सम्मान तथा काव्य उत्सब कार्यक्रम हुँदै थियो । नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट कार्यक्रममा सभागी हुन हामी सात जना साहित्यकार जाने पक्का भयो । विशेष कारणबस हामी सबै सँगै जान भने पाएनौ । केहि साथीहरू हामी भन्दा पहिला नै दमौली पुगिसक्नु भएको थियो ।

विहान करीब एघार बजे तिर हामी तिन जनाको टिम दमौली पुग्यौँ । बसबाट ओर्लने बित्तिकै सीता मेडम लिन आइुसक्नु भएको रहेछ, देखेर खुसी लाग्यो । बल्छी होटलमा खानाको व्यवस्था गरिएको रहेछ । साहित्यकारहरू सँग भेटघाट कुराकानी सँगै खाना खायौँ । खाना खाएर कार्यक्रम स्थल उद्योग वाणिञ्य संघको हलतिर लाग्यौ । प्रमुख अतिथि आइपुग्न ढिला भएका कारण कार्यक्रम सुरु हुन केहि समय लाग्ने आयोजकले जानकारी गराए ।

व्यास नगारपालिकाका मेयर बैकुण्ठ न्यौपाने आजको कार्यक्रमको प्रमुख अतिथि भन्ने सुनेर खुसी लाग्यो । ग्लोबल पाल्र्यामेन्ट अफ मेयरमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुहुने बैकुण्ठ न्यौपाने जस्तो दुरदर्शी, साहित्यप्रेमी, विकासप्रेमी जनप्रतिनिधि कार्यक्रमको केन्द्रबिन्दु हुनुले कार्यक्रमको शोभा झन बढेको थियो ।

नेपाली भाषा, साहित्य र लोक संस्कृतिलाई नेपालमा मात्रै होइन विश्वमा चिनाउन अभियन्ताकै रुपमा आफ्नो जीवन समर्पण गरिरहनु भएका नेपाली लेखक संघका केन्द्रिय उपाध्यक्ष कुसुमाकर न्यौपाने, नेपाली लेखक संघलाई आजको अवस्थासम्म ल्याउन योगदान गर्नुहुने पूर्व अध्यक्ष तुलीस भट्टराई विशिष्ट अतिथिका रुपमा कार्यक्रममा रहनु भएको थियो । संस्कृतिक संघका केन्द्रीय अध्यक्ष तिर्थ थापालगायत नेपाली लेखक संघको केन्द्रिय समितिका सोझो गाउँले, शशी थापा, सरस्वती शर्मा जिज्ञासु, माहाकाव्यकार कृष्णा देवी शर्मा, सदानन्द अभागी जस्ता साहित्यकारको आथित्यतामा कार्यक्रम सम्पन्न हुँदै थियो ।

वेद व्यासको तपोभूमि, भानुभक्तको जन्मभूमि, लेखनाथ पौड्यालको काखमा रहेको पवित्र जिल्ला तनहुँ आफैमा सुन्दर छ । नवलपरासी, गोरखा, लम्जुङ, स्याङ्जा तथा कास्कीको समिपमा रहेको यस जिल्लामा थुप्रै एतिहासिक धार्मिक महत्वका ठाउँ छन् । नेपाली भाषालाई नेपालको राष्ट्र भाषा बनाउन भानुभक्तको महत्वपूर्ण योगदान छ । यस्तो ऐतिहासिक तथा साहित्यिक उर्वर भूमिमा भएको कार्यक्रममा सहभागी हुन पाउँदा मन फुरुङ्ग थियो ।

गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेक सबै जिल्लाबाट साहित्यकारको उपस्थिति थियो । लगभग १ बज्नै लाग्दा कार्यक्रम सुरु भयो । अञ्जनाजीले कार्यक्रमलाई अगाडि बढाउनु भयो । संस्थाकी अध्यक्ष गौकुमारी न्यौपाने कार्यक्रमको अध्यक्ष हुनुन्थ्यो । आसनग्रहण लगत्तै संस्थाका उपाध्यक्षले उपस्थित सबैलाई स्वागत गर्नुभयो ।

कार्यक्रमको उद्घाटनपछि कविहरूबाट रचना वाचन कार्यक्रम सुरु गरियो । सबै जिल्लाबाट आउनु हुने साहित्यकारको सुन्दर सृजना सुन्ने अवसर जुर्यो । सुनीरहँदा महसुस गरेको कुरा तनहुँकै स्रष्टाहरूको कविता झन सशक्त थिए । रचना वाचनकै बीचमा सम्मान कार्यक्रमलाई जोडियो । सम्मानित हुनेहरूमा इन्द्र कुमार विकल्प, ओम प्रकाश घायल, अजय मिलन श्रेष्ठ, डा. नरहरि उपाध्यय गौतम, विश्वप्रेम अधिकारी, रामचन्द्र घिमिरे, सदानन्द अभागी, नारायण प्र. पोख्रेल, अम्बिका भट्टराई, काबीनाथ न्यौपाने, तारा पाखे, विजय बजीमय, देवन्द्र भट्टराई, टीका सापकोटा थिए । सम्मानपछि सम्मानित स्रष्टालगायत अन्य साहित्यकारबाट रचना वाचन कै कार्यक्रम पुनः सुरु भयो ।

मेरो देश दलालले निलिसके, देखेर रुन्छिन् धरा
सत्ता लिप्त दरिद्रका, नजरले देख्दैन यो दुर्दशा ।
स्वार्थी नीच हरामका, विग्विगी बढ्दै गए दिन्दिन
साँचो सत्य कुरा यहाँ कलमले लेख्दैन कोही किन ।।

यी सशक्त हरफ तनहुँकै कवयित्री नारायणी अधिकारीका हुन् । यो कविताले वर्तमान बोलेको थियो । हाम्रो कलमको लाचारीपनमाथि प्रश्न उठाएको छ । देशमा भइरहेका अनेक व्यथितिमाथि व्यङ्य प्रहार गरेको छ । सबैका रचना उत्तिकै उत्कृष्ट थिए । लक्ष्मी पौडेल, धनन्जय, नारायण प्रसाद, कृष्णा देवी शर्मा आदि कविका कविताले त हामीलाई लठ्ठै बनायो । प्रमुख अतिथिबाट पनि कविता वाचन भएकोले अझ खुसी थपियो ।

कार्यक्रम सञ्चालकले मलाई टीकाराम सापकोटा भनेर मञ्चमा बोलाउँदा म अलमल भएँ । जाउँ कि नजाउँको दोसाँधमा परेँ । हुन त मलाई मेरै नामले धेरै पटक धोका दिएको छ । एकपटक भ्रमणमा जाँदा छोडिएको सम्झेँ । टीकाराम सापकोटा कार्यक्रममा अरु कोही थिएन । नाम सच्याउन आग्रह गर्दै रचना वाचन गर्न मञ्चतिर उक्लेँ । मैले मेल गरेका पाँचवटा मुक्त्तकबाट जम्मा दुईवटा मात्र सुनाएँ । त्यस मध्यको एउटा थियो :

के रहन्छ पहिचान, संस्कृति विर्सेपछि
कसरी बढ्छ त शान ? संस्कृति विर्सेपछि,
न्यायको गला रेटेर, सुशासन कायम भएछ
लिए शासकले सम्मान, संस्कृति विर्सेपछि ।।

नव सर्जकका रुपमा साथी पुष्पाले भानुभक्तकै बारेमा रचना वाचन गर्नुभयो । श्रीषा शाहीको कविता उत्तिकै दमदार थियो । हाम्रो जिल्लाबाट गएका साहित्यकार सदानन्द अभागी, लीला मास्की, श्रीषा शाही, पुष्पा पाण्डेय, सीता पौडेल सबैले कविता वाचन गर्नुभयो । प्रमुख अतिथिलगायत विशिष्ट अतिथिहरूको एउटै आवाज थियो, भाषा, साहित्य र संस्कृति भनेको हाम्रो मुटु जस्तै हो । यी रहे मात्र हाम्रो अस्तित्व रहन्छ । भाषा साहित्यको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।

गण्डकी प्रदेशका सबै जिल्लाबाट राष्ट्रिय स्तरमै योगदान पु¥याएका कविहरूको सम्मान भएकोमा खुसी व्यक्त गर्दै कुसुमाकर सरले सबैलाई बधाई तथा शुभकामना दिनुभयो । कार्यक्रमको अन्त्यमा संस्थाका पूर्व अभ्यक्षबाट धन्यवाद ज्ञापन तथा अध्यक्षबाट कार्यक्रम समापन भयो । संख्यात्मक रूपमा उपस्थिति कम भए पनि गुणात्मक रूपमा त्यो उपस्थिति भव्य थियो । महिलाको नेतृत्व पनि पुरुषको भन्दा कम हुँदैन भन्ने कुरा यस कार्यक्रमले प्रष्ट पारेको थियो ।

सामूहिक फोटो खिचाएर करिब ६ बजेतिर हामी छुट्टियौँ । मलाई त्यो दिन तनहुँमै बस्ने मन थियो तर विशेष काम परेर साथीहरू फर्किनुपर्ने भयो । म पनि सँगै फर्किएँ । त्यो साँझलाई साहित्यिक बनाउने मेरो सपना अधुरै रह्यो ।

बसमा घर फर्किदै गर्दा निधारमा टीका र रातो सल आडेको देखेर प्रिय साथी पुष्पाले जिस्काउँदै भन्नुभयो ‘आज त दुरान फर्काएर आएजस्तै देखिनु भा छ ।’ दुई दशक अगाडिको सम्झना ताजा भएर आयो ।

पराईको अँगालो भन्दा आफन्तको थप्पड प्यारो हुन्छ भन्छन्, यो त आफन्तले गरेको सम्मान थियो । मन कति फुरुङ्ग भयो होला, शब्दमा बयान गरेर सकिँदैन । निधारका टीका, गलामा माला र हृदयमा साहित्यको अभिवृद्धिको जिम्मेवारी लिएर म आफ्नै कर्मभूमि नवलपुर फर्किएँ ।

मंसिर २४ गतेको एक राष्ट्रिय पत्रिकामा कार्यक्रमको समाचार आएको रहेछ । कुसुमाकर सरले हेर्न आग्रह गर्नु भो । समचार पढेको त आफ्नो नाम परिवर्तन भएर आएको रहेछ । कविता वाचन गर्दा टीकाराम भएकी म पत्रिकासम्म आइपुग्दा दिपक सापकोटा भइसकेकी रहेछु ।

यो सुन्दा र हेर्दा सामान्य कुरा लाग्ला तर गम्भीर विषय हो । म एउटा सामान्य साहित्यकार हुँ, नाम परिवर्तन हुँदैमा खासै फरक पर्दैन तर राष्ट्रियताको सबालमा र कुनै घटनाका विषयमा लेख्दा यस्तै गल्ती भयो भने के होला ? एउटा सज्जन व्यक्तिमा अपराधको कलङक लाग्न सक्छ, एउटा जिवित व्यक्ति मृत भएको समाचार बन्न सक्छ । पत्रकारहरूले समाचार बनाउँदा विशेष ध्यान पुर्याउन जरुरी हुन्छ जस्तो लाग्छ । मलाई जीवनमा अन्य व्यक्तिले धोका दिएको अनुभव त छैन तर नामले भने पटक पटक धोका दिइरहेकै छ । जय तनहुँ ! जय साहित्य !

लेखक नवलपरासीको कावासोती –८, नवलपुरमा बसेर नेपाली साहित्यमा कलम चलाउँदै आउनुभएको छ ।