नेपालमा कोरोना संक्रमितमध्ये ५४ हजार ६४० जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार तीन सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सोही अवधिमा कोरोना निको भई सात सय ४२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कोरोना निको भइ डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६ सय ४० पुगेको मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

देशभरका स्वास्थ्य प्रयोगशालामा आज १० हजार ८० पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। हाल मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ६ सय २४ रहेको उनले बताए।

यसैगरी संस्थागत आइसोलेशनमा आठ हजार ६ सय ९५ जना र होम आइसोलेसनमा दश हजार नौ सय २९ जना तथा विभिन्न क्यारेन्टिन छ हजार तीन सय १० जना रहेका छन।

मुलुकभरका अस्पतालहरुमा हाल कोरोना सङ्क्रमितमध्ये दुई सय २५ जनाको आइसियुमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।