झरी (लघुकथा)

O अमित संग्रौला

हप्ता दिनदेखि लगातार पानी परिरहेको छ। पानी रहन्छ जस्तो देखिँदैन। वातावरणमा पनि उतारचढाव आएको देखिन्छ। गए राति त ठूलै पानी परेछ। असिनासहित पानी दर्किएको प्रस्टै सुनिन्थ्यो।

टिन बजेको आवाज कानमा गुन्जिरहेको छ। पानी सँगसँगै हुरी बतास पनि आएको थियो। बिजुलीको पोल ढलाएछ। आँपका रुख, बकैनाको बोट असरल्ल परेर भुइँभरि लडिरहेका छन्।

गाउँलेहरु ति लडेका रुख काटेर दाउरा बनाउने दाउ छोपीरहेका छन्। असार लागिसकेको हुनाले रोपाइँ गर्ने चटारो छ। बडा बा र पल्लोघरे काकाहरुको रोपाइँ धमाधम चलिरहेको छ।

छोरा भन्छ ‘बाबा स्कुल कहिले खुल्छ र मैले एसइई दिन पाउँछु। लक डाउन कहिले खुल्छ?’

‘यो कोरोना भाइरसले मान्छेको सत्यनाश गरिसक्यो’ भनेर देवकी रिस पोख्छिन ।

लामो समयदेखि बन्दा बन्दी भएको छ। त्यसले पनि लकडाउनले जनजीवन प्रभावित पारेको छ। वर्षाको समय छ। किसानहरुलाई रोपाइँको चिन्ता छ। मानो रोपेर पाथी फलाउने समय हो।

जहाँतहीँ एउटै खबर आइरहन्छ। फेसबुक सामाजिक संजालमा कोरोना भाइरसबाट यति जना संक्रमित भए । मृत्युदर यति, निको भएका उती भन्ने समाचारमा आइरहेका छन्। यता आमा चै पसलहरु कहिले खुल्छ ? र, ती पाकेका आँप र कटहर लिएर बेचौँला भनेर उदास छिन।

आज पानी नराम्रोसँग पर्यो। टिभी रेडियोमा समाचार आइरहेको छ। कतै भने बाढीपहिरो नै आएछ। कहिँ कहिँ भने चट्याङ परेर मान्छेहरु मरेछन्। कोरोना भाइरसको महामारी छ।

पर कतै लकडाउनले भोक भोकै परेका र निरन्तरको झरीले ओतलाग्ने छानो समेत नभएको सुकुम्बासी बस्तिमा कोलाहल भइरहेको थियो। होहल्ला भइरहे पनि हामी सुत्ने तरखरमा लाग्यौं।

वर्खा लागेर त्यसमा मान्छेको जनजीवन प्रभावित पारेको छ। छोराले एसर्इईको परीक्षा दिन न पाएर पढेको पनि बिर्सिन्छ भन्ने डर छ उसकी आमालाई। साँझको समय बाहिर पानी परिरहेकै छ।

छोरा आफ्नै कोठामा छ। आमा ढल्किरहनु भएको छ। देवकी छेउमा आइन् र भनिन् । ‘ग्यास त सकिएछ’ पानी परिरहेको छ, ग्यास खोज्न कहाँ जाउँ ! दाउरामै पकाउन आज भोलि दिउँसो खोजेर ल्याउँला।

देवकीले जसोतसो गरेर खाना पकाइन। छोरा र र आमालाई पस्किएर दिइन। हामीले त खाना खायौं। ति खान नपाएर भोकभोकै मर्नु परेकाहरुलाई कस्तो होला। कति बिजोग छ। त्यसमाथि यस्तो झरी र वर्खाको समय। उनले दुःख व्यक्त गरिन्। निकैबेर कुराकानी गरिह्यौँ।

पर कतै लकडाउनले भोक भोकै परेका र निरन्तरको झरीले ओतलाग्ने छानो समेत नभएको सुकुम्बासी बस्तिमा कोलाहल भइरहेको थियो। होहल्ला भइरहे पनि हामी सुत्ने तरखरमा लाग्यौं।

(बिर्तामोड, झापा)