महाराजलाई बिन्तिपत्र !

० तिलक खोँजेली

महाराज !
थाहा छ हामीलाई
आश्वासनको रङ अस्पष्ट हुन्छ
तर अधिकारको रङ
इज्जतको रङ
अभावको रङ
कालो हुन्छ कि सेतो ?

महाराज!
सत्ताको साँढेमाथि चढेपछि
किन बिर्सन्छौ आफ्नो अतीत
किन कुल्चिन्छौ जनताको शिर
साँच्चै के छ त्यस्तो बालुवाटार मुकामभित्र?
जो छिरेपछि बहुलाएर निस्कन्छ बाहिर

महाराज !
खै किन यसरी मडारिएको छ
अश्लीलताको धुवाँ आँखा वरिपरि?
निवस्त्र बनाएर हाम्रा हेराइहरूलाई
नाङ्गिएका हामी हौँ कि तिमी?
अहंकारका अरिङ्गाल पालेर
तिम्रो दरबारबाट निस्किएको लाखे नाच
परम्परा हो कि अहम् ?
जसले लखेटिरहेको लोकतन्त्रको कोरली
र ढुक्राइरहेको छ
कामुक साँढे झैँ चोक चोकमा

महाराज !
सहरभरि सुकाएर सिद्रा बनेको सपनासँग
मार्सी र असर्फीको कक्टेलयुक्त चुस्की लिएपछि
किन गर्छौ सकुनीको जालझेल?
जनताको मन अमिलो बनाएर
किन रोक्छौ सिटामोल र जीवनजल?
किन फ्याक्छौ डाक्टरका घाँटीबाट स्टेथोस्कप?
किन निर्लज बाँड्छौ वधशालाको लाइसेन्स?

जनताको जीवनसँग आफ्नो मृत्यु साट्न
अनशनको ओछ्यानमा लडेको
एउटा बुढो आकृतिसँग
किन पटकपटक जान्छ तिम्रो सातो?

महाराज !
किन चिन्न सक्दैनौ औषधि र झार?
किन बाँड्छौ वनमारालाई बाबरी
र बाबरीलाई वनमाराको भ्रम
जनताको जीवनसँग आफ्नो मृत्यु साट्न
अनशनको ओछ्यानमा लडेको
एउटा बुढो आकृतिसँग
किन पटकपटक जान्छ तिम्रो सातो?
र किन छर्किन्छौ
होली वाइनले बलात्कृत राष्ट्रियताको ~याल !

महाराज !
हामीले स्वीकारेका हौँ
तिम्रो उत्तेजित डुक्र्याइ
तितेकरेली जस्तो तिक्तता
र पिडालुको जस्तो कोक्याइ
अमृत पिलाउँछु भनेर विष ओकलेपछि
अझै डुब्न चाहँदैनौँ हामी
तिम्रो गफको चास्नीभित्र
गुमाएर आफ्नो अस्तित्व
लुटाएर आफ्नो अस्मिता
तिमी नाङ्गै छौ भनेर हामी
लोकतान्त्रलाई तिम्रो लगौँटी बन्न दिदैनौँ।