‘नेपाली संस्कृतिका केही आयाम’कृतिभित्र संस्कृतिका कुरा

० रमेश प्रभात

आमुख
‘नेपाली संस्कृतिका केही आयाम’ कृतिका रचनाकार केदारनाथ खनाल हुन् । सर्जक खनालको आठौँ कृतिका रूपमा यो वि.सं. २०७६ मा पाठकका सामु आएको छ।

यस कृतिका कृतिकार केदारनाथ खनाल वि.सं. २००१ कार्तिक ७ गते गोरखा जिल्लाको साबिक ताक्लुङ गाविस वार्ड नं. २ मा जन्मिएका हुन् ।

उनी शिक्षण पेसाबाट सेवा निवृत्त व्यक्ति हुन् । शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका खनाल चितवन आसपासका युवापुस्ताका शिक्षक गुरु मात्र नभई साहित्यिक गुरु पनि हुन् ।

सर्जक केदारनाथ खनालका कविताका दुईवटा, निबन्धका पाँचवटा गरी सातवटा नेपाली भाषाका कृतिहरू प्रकाशित भएका छन्। ती मध्ये एउटा कृति अङ्ग्रेजीमा समेत अनुवाद भएको छ । यीबाहेक यिनका विभिन्न पत्रपत्रिकामा शिक्षा, साहित्य र संस्कृतिसम्बन्धी दर्जनौँ लेखहरू पनि प्रकाशित भएका छन् ।

साहित्यको सेवा गरेवापत यिनलाई विभिन्न पुरस्कार तथा सम्मानले सम्मानित गरिएको पाइन्छ । यहाँ सर्जक खनालको पछिल्लो कृति ‘नेपाली संस्कृतिका केही आयाम’ का बारेमा सामान्य चर्चा गरिएको छ।

संस्कृतिसम्बन्धी केही कुरा
सामन्यतया ‘संस्कृति’शब्दले समाजमा प्रचलित मूल्य तथा मान्यतालाई जनाउँछ । संस्कृति मूलतः मानवसमाजसँग सम्बन्धित हुन्छ । संसारका हरेक जाति तथा समुदायका मानिसको आफ्नै खालको संस्कृति हुन्छ । यही संस्कृतिका आधारमा समाजमा उसले आफ्नो छुट्टै पहिचानसमेत बनाएको हुन्छ।

तत्सम शब्द ‘संस्कृति’को विन्यास ‘कृति’ नामपदमा ‘सम्’ उपसर्ग लागेर भएको हो । यसको शाब्दिक अर्थ हुन्छ– ‘कुनै राष्ट्र वा जातिका सामाजिक जीवन, राजनीतिक, अर्थ व्यवस्था आदिमा प्रतिबिम्बित हुने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूप’ (नेपाली बृहत् शब्दकोश, २०६७ : १२०९) । नेपालीमा प्रचलित ‘संस्कृति’ शब्द अंग्रेजी ‘कल्चर’ शब्दको रूपान्तर हो।

एग्रिकल्चरजस्ता अङ्ग्रेजी शब्दमा पनि कल्चर शब्द गाँसिएको छ, जसले खेतीपाती भन्ने बुझाउँछ । अंङ्ग्रेजी कल्टिभेट क्रियापदको अर्थ आबाद गर्नु, खेती गर्नु, आदि हुन्छ।

त्यसैको, नामपद कल्टिभेसन शब्दले आबादी, खेतीपाती, गोडमेल आदिलाई जनाउँछ । यसरी कल्टिभेसनको अर्थमा यसको प्रयोग भई विकसित हुँदै आज विविध अर्थमा अर्थिन आइपुग्यो (गौतम २०६७ : ४४३–४४)

अङ्ग्रेजी समालोचक म्याथ्यु आर्नाेल्डले उन्नाइसौं शताब्दीको पूर्वाद्र्धमा साहित्यिक कृतिलाई सांस्कृतिक समालोचनाको माध्यमबाट अध्ययन गरी काव्यात्मक विशिष्ट गुण भएको कृतिलाई सांस्कृतिक अध्ययनको आधार माने (उप्रेती, २०६७ः२७)।

दोस्रो विश्वयुद्धपछि संस्कृतिको अध्ययनमा नयाँ कुरा थपिएर सिद्धान्तद्वारा निर्देशित हुँदै आयो। यसको विकासमा सन् १९६४ को दशकमा बर्मिमिङघम युनिभर्सिटीमा स्थापित सेन्टर फर कन्टेम्पोररी कल्चर स्टडिजले टेवा पु¥यायो, जसको स्थापना रिचार्ड होगार्ट, रेमन्ड बिलियम्स इ.पि. थम्पसन र स्टुआर्ट हलजस्ता लेखकहरूले गरे।

समाज लिङ्ग, जाति, धर्म, क्षेत्रसंगै वर्गबीचको द्वन्द्वबाट सञ्चालित हुन्छ । संस्कृतिले अर्थ व्यवस्थाले जस्तै त्यही रूपमा जनतामा पहिचानको चेतनालाई आकार दिन्छ भन्ने मान्यता बोकेर यसको आरम्भ भएको हो (गौतम, २०६७ः ४४६–४७)।

यसरी दोस्रो विश्वयुद्धपछिका स्थितिमा श्रमिकवर्गको साथै सीमान्तकृत तल्लो समुदायका मानिसहरूको संस्कृतिलाई स्थापित गराउने र त्यसलाई लोकप्रिय संस्कृतिका रूपमा चिनाउने उद्देश्यसहित यस संस्थाका गतिविधिहरू अगाडि बढेका छन् । यो संस्था वैचारिक दृष्टिकोणले हेर्दा माक्र्सवादबाट प्रभावित देखिन्छ।

माक्र्सवादका आधारमा समाजविकासको आधारभूत संरचना सामाजिक, आर्थिक संरचना हो। उत्पादनमा आधारित यिनै आर्थिक आधार वा आर्थिक ढाँचाले कुनै निश्चित सामाजिक वर्गको निर्धारण गर्दछ। यसले उत्पादक शक्ति र उत्पादन सम्बन्धको समष्टिलाई नै आर्थिक आधार मान्छ।

उत्पादन प्रक्रियामा जसले शारीरिक श्रम गर्छ त्यो नै उत्पादन शक्ति हो। उत्पादनका तत्वहरू भूमि, साधन, स्रोत, वितरण, उपभोग आदिको सम्बन्ध स्वामित्वसँग रहन्छ।

उत्पादक शक्ति, उत्पादन सम्बन्ध र वितरण प्रणालीको आधारमा समाज, सामाजिक वर्ग र सामाजिक संस्कृतिको निर्माण हुन्छ भन्ने निष्कर्ष माक्र्सको सैद्धान्तिक मान्यता हो (वान्तवा र सुब्बा, २०६७ः ३९–४०)।

इटालियन नवमाक्र्सवादी दार्शनिक अन्तोनियो ग्राम्सीद्वारा प्रतिपादित एकाधिकारको अवधारण पनि सांस्कृतिक अध्ययनमा उपयोग हुँदै आएको छ। यसको केन्द्रीय मान्यताअनुसार बलको प्रयोग बिना पनि समाजभित्रका विभिन्न वर्गलाई प्रभुत्वले वार्ता र सहमतिको आधारमा बाँधेको हुन्छ।

यसको प्रयोग गरेर अभिजातहरूले समाजमा एकाधिकारको स्थिति कायम गर्छन्। पीडित वर्गले हामी गरिब छौँ, दुःखी छौँ यो अघिल्लो जुनीको कर्मको फल हो भनेर स्वीकार गर्दछन्, जसले गर्दा अभिजातको संस्कृतिलाई आफ्नै हो भन्ने ठान्छन्।

यसरी प्रभुत्वशाली वर्गले वार्ता र सहमतिका माध्यमबाट आफ्नो शक्ति कायम गर्छ । एकाधिकारमा ‘वार्ता र सहमति’ आधारभूत महत्वका रूपमा रही शासक वर्ग र अन्यका बीच मध्यस्थताले काम गर्छ भन्ने निष्कर्षगत मान्यता नै ग्राम्सीको एकाधिकारको सिद्धान्त हो ।

विवेच्य कृतिभित्र संस्कृतिका कुरा
‘नेपाली संस्कृतिका केही आयाम’ (२०७६)केदारनाथ खनालका सांस्कृतिक निबन्धहरूको सङ्ग्रह हो। यस कृतिभित्र सङ्कलित सत्रवटा निबन्धहरूलाई जम्मा तीन खण्डमा विभाजित गरी राखिएको छ।

पहिलो खण्ड सैद्धान्तिक खालको छ भने दोस्रो खण्ड चितवनसँग सम्बन्धि छ। त्यस्तै तेस्रो खण्ड सांस्कृतिक महत्वका व्यक्तिहरूमा केन्द्रित छ। यसमा एउटा लेख भने संस्कृतिमाथि हुने गरेको अतिक्रमणका विरुद्धमा उभिएको पाइन्छ।

खण्ड ‘क’मा समाविष्ट सातवटा निबन्धमा समग्र लोकसाहित्यको सैद्धान्तिक चर्चा गरिएको पाइन्छ । जसमध्ये पहिलो निबन्ध लोकसाहित्य र लोकगीत : एक परिचयमा लोकसाहित्यको परिचय, कालविभाजनका साथै लोकगीतको परिचय र वर्गीकरण प्रस्तुत गरिएको छ, यसर्थ यो निबन्ध नभएर समालोचनात्मक लेख बनेको छ।

त्यस्तै दोस्रो निबन्ध लोकसाहित्यमा मालश्रीमा पनि लोकसाहित्यको वर्गीकरण गर्दै लोकगीतको विशेषतासहित मालश्रीको चर्चा गरिएको छ। तेस्रो निबन्ध खाँडो : नेपाली लोक साहित्यको एउटा पाटोमा खाँडो जगाउने संस्कृतिका बारेमा अनुभूति प्रस्तुत गरिएको छ।

त्यस्तै चौथो निबन्ध सोरठी : नेपाली संस्कृतिको खले गरोमा सोरठीका बारेमा व्यापक चर्चा गरी सैद्धान्तिक रूपमा सोरठीलाई चिनाउने काम गरिएको पाइन्छ।

पाँचौ निबन्ध रत्यौली : लोक संस्कृतिको एउटा पक्षमा अचेल हराउँदै जान लागेको रत्यौलीको चिनारी दिनुका साथै रत्यौलीमा प्रस्तुत हुने गीतका गेडाहरूसमेत प्रस्तुत गरिएको छ।

त्यस्तै छैटौँ निबन्ध फेरीको फलाकोमा नाथ सम्प्रदायका व्यक्तिहरूले चैत्र तथा कार्तिक महिनाको रातमा घरघर डुलेर बराँठको सिङ बजाउँदै फलाक्ने फेरीका बारेमा चर्चा गरिएको छ।

सातौँ निबन्ध बालुन : एक परिचयमा हाम्रो गाँउघरमा रामायण, कृष्णलीला आदिमा केन्द्रित भएर माङ्गलिक कार्यमा प्रस्तुत गरिने बालुनका बारेमा उदाहरणसहित प्रष्ट पारिएको छ।

पहिलो खण्ड सैद्धान्तिक खालको छ भने दोस्रो खण्ड चितवनसँग सम्बन्धि छ। त्यस्तै तेस्रो खण्ड सांस्कृतिक महत्वका व्यक्तिहरूमा केन्द्रित छ ।

समीक्षा

खण्ड ‘ख’मासमाविष्ट छवटा निबन्धहरूमध्ये पाँचवटा चितवनको संस्कृति झल्काउने खालका छन् भने एउटा निबन्ध वैयक्तिक अनुभूतिसँग जोडिएको छ । वास्तवमा यो कृतिको मर्म पनि यसैसँग जोडिएको देखिन्छ।

यी निबन्धमध्येपहिलो निबन्ध चितवनको साहित्य र संस्कृति सङ्क्षिप्त अभिरेखाङ्कनकेही लामो खालको लेख हो। यसमा चितवनको चिनारी दिनुका साथै थारु, दराई तथा चेपाङजस्ता जातिका संस्कृतिको चिनारी पनि दिइएको छ । त्यस्तै दोस्रो निबन्ध मछुवारी थारू जातिको रोचक संस्कृतिमा मछुवारी थारुको संस्कृति लोप हुन लागेकोमा चिन्ता व्यक्त गरिएको छ।

तेस्रो निबन्ध चेपाङ जातिको रिवाजमा चेपाङको वैवाहिक प्रचलनका बारेमा चर्चा गरिएको छ । त्यस्तै चौथो निबन्ध मेरो दुई पटकसम्म जात गएको होनितान्त वैयक्तिक अनुभूतिसँग सम्बन्धि त छ।
यसमा बाहुन जातिमा नराम्रो कर्म गर्दा जात जाने पुरानो प्रचलनलाई उजागार गरिएको छ । पाँचौँ निबन्ध भाषिक विविधताको वेणी : चितवन मा बसाइँसराइँका कारण चितवन भाषिक विविधताले युक्त छ भनेर चिनाउन खोजिएको छ।

त्यस्तै छैटौँ निबन्ध धार्मिक र पर्यटकीय दृष्टिकोणले चितवनमा चितवनको भविष्य धार्मिक तथा पर्यटकीय कोणबाट उज्ज्वल छ भन्ने सन्देश दिन खोजिएको छ ।

खण्ड ‘ग’मा समाविष्ट चारवटा निबन्धमध्ये तीनवटा निबन्ध सांस्कृतिक बिम्ब बनेका पुरुषहरूसँग सम्बन्धित छन् भने एउटा निबन्ध व्यङ्ग्यात्मक खालको छ। जसमध्ये पहिलो निबन्ध अलौकिक एवम् विलक्षण प्रतिभाका धनी दुल्लभ लामिछानेमा दुल्लभ लामिछाने चिनारी दिइएको छ भने दोस्रोनिबन्ध मौद्गल्य : कोइराला वंश पुरुषमा कोइराला थरका बारेमा चर्चा गरिएको छ।

त्यस्तै तेस्रो निबन्ध खनाल वंश प्रवर्तक : ब्रह्मर्षि विश्वामित्रमा खनाल वंश र विश्वामित्र ऋषिका बारेमा व्यापक चर्चा गरिएको छ। यस कृतिको अन्तिम तथा तेस्रौ खण्डको चौथो निबन्ध डोजरे विकास : संस्कृतिको विनाशमा संस्कृति कसरी विकृति बन्छ भन्ने प्रकाश परिएको छ । यो लेख सांस्कृतिक भन्दा पनि व्यङ्ग्यात्मक खालको छ।

उपसंहार
समग्रमा भन्नुपर्दा ‘नेपाली संस्कृतिका केही आयाम’ नामक कृति सांस्कृतिक निबन्ध नभएर बिम्बमा उभिएको लेख तथा समीक्षाहरूको सञ्चयन हो।

विविधता बोकेको यो कृतिको अध्ययनले पाठकलाई लोकसाहित्यको चिनारी दिेने, चितवनको संस्कृतिका बारेमा जानकारी दिने तथा सांस्कृतिक महत्व बोकेका व्यक्ति तथा ऋषिहरूका बारेमा पनि जानकारी दिने काम गरेको छ। नाम जस्तो छ, यो कृति त्यस्तै बनेको छ।

यस कृतिका कृतिकारलाई जानकारीमूलक कृति पाठकसामु ल्याएकोमा साधुवाद भन्दै पचहत्तरौँ जन्मदिवसको असीम शुभकामनासहित कलम रोक्छु। अस्तु।

(समिक्षक वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका उपप्राध्यापक हुन् ।)
सन्दर्भ सामग्री सूची

उप्रेती, सञ्जीव.२०६८. सिद्धान्तका कुरा. काठमाडौँः अक्षर क्रियसन्स नेपाल ।
खनाल, केदारनाथ. २०६५. यात्राका स्पन्दनहरू. चितवन : चितवन साहित्य परिषद् ।
………. २०६६. स्मृतिका बिम्बहरू. चितवन : चितवन साहित्य परिषद् ।
………. २०७६. नेपाली संस्कृतिका केही आयाम. चितवन : चितवन साहित्य परिषद् ।
गौतम, कृष्ण.२०६७. उत्तर आधुनिक संवाद. काठमाडौँः भृकुटी एकेडेमिक पब्लिकेसन्स ।
चापागाई, निनु. २०६४. समाज र संस्कृति (दो.सं.), काठमाडौँः विवेक सिर्जनशील प्रकाशन ।
त्रिपाठी, वासुदेव र अन्य.२०६७. नेपाली वृहत् शब्दकोश. (सम्पा.), काठमाडौंः नेपाल प्रज्ञाप्रतिष्ठान ।
बान्तवा, एस्.बी.र सुब्बा, सी.बी.२०६७. माक्र्सवादको पहिलो पुस्तक. (दो.सं.), काठमाडौँः खोजी प्रकाशन ।
भट्टराई, रमेशप्रसाद.२०५९÷०६०. ‘नैकापे सर्किनी कथाको बहुसांस्कृतिक विश्लेषण’ वाङ्मय. पूर्णाङ्क ११।
वैद्य, मोहन.२०६५. नेपाली समाज र संस्कृति. (दो.सं.), काठमाडौँः विवेक सिर्जनशील प्रकाशन ।