कांग्रेसका महासमिति सदस्यको पार्टी एकढिक्का बनाउनुपर्ने राय : कसले के भने ?

काठमाडौं । तीन दिनदेखि काठमाडौंमा काँग्रेस महासमितिको बैठक जारी छ । महासमिति सदस्यहरुले पार्टीलाई अब एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने भन्दै नेतृत्वलाई दबाब दिएका छन् । सोमबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् ।

पूर्व सांसद एवम् महासमिति सदस्य रामहरि खतिवडाले कांग्रेसलाई अझैपनि पहिलो पार्टी बनाउन सकिने धारणा राखे । तर, त्यसको लागि नेताहरु एकजुट हुनुपर्ने उनको भनाइ छ । नेताहरुले व्यक्तिलाई हेरेर विधान बनाउन नहुने उनको धारणा छ । उनले भने, ‘समग्र कार्यकर्ताहरुलाई हेरेर विधान बनाउनुपर्छ । पार्टी जनताको हितमा कसरी उतार्न सकिन्छ भनेर बहस गर्नुपर्छ ।’ नेताहरुले हात मिलाउँदैमा पार्टी एक ढिक्का नहुने उनको तर्क छ ।

 महासमिति सदस्य एवम् प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले पार्टी नेताहरुले अब कार्यकर्तालाई अर्जुन बनाउनुपर्ने र आफू युधिष्ठिर बन्नुपर्ने सुझाव दिए । अब मुलुकमा समृद्धिको नेतृत्व पनि कांग्रेसले नै गर्ने उनको जिकिर छ । उनले भने, ‘अब मुलुकलाई कम्युनिष्टविहीन बनाउनुपर्छ । त्यसको लागि कांग्रेस एकतावद्ध भएर अघि बढ्नुपर्छ ।’ उनले ८७१ महासमिति सदस्यरुले हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर गरिसकेकोले यो मुद्दा बैठकमा जोडदारसँग उठ्ने पनि जानकारी दिए ।

 महासमिति सदस्य जगदिशनरसिंह केसीले पार्टीलाइ अब सामूहिक नेतृत्वमा लैजानुपर्नेमा जोड दिए । संविधानमै मुलुक धर्मनिरपेक्ष भएकोले अहिले महासमिति सदस्यहरुले हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर गरेको मागप्रति आफ्नो सम्मान रहेको उनले सुनाए । नेतृत्वका कारण अहिले पार्टी कमजोर भएको उनको गुनासो छ ।

  महासमिति सदस्य एवम् नेपाली कांग्रेस जनसम्पर्क समिति बेल्जियमकी सभापति सिता सापकोटाले पार्टीलाई अब तल्लो स्तरबाटै शुद्धिकरण, सुदृढिकरण र एकतावद्ध बनाउनुपर्नेमा जोड दिइन् । उनले भनिन्,‘अहिले कम्युनिष्ट सरकारका कारण आम जनता निराश छन् । अब कांग्रेसले जनतालाई उत्साही बनाउनुपर्छ । त्यसको लागि हामीभित्रै आन्तरिक एकता हुनुपर्छ । यो महासमिति बैठकले हामीलाई त्यस दिशातर्फ अघि बढाउँछ ।’ पार्टीभित्र अझैपनि बेथितिहरु रहेको उल्लेख गर्दै सापकोटाले यो महासमिति बैठकले ती तमाम बेथितिहरुको अन्त्य गर्नुपर्ने धारणा राखिन् ।

 महासमिति सदस्य विष्णु धितालले कांग्रेसले अब धार्मिक स्वतन्त्रताको पक्षमा आफ्नो आवाज बुलन्द बनाउनुपर्ने धारणा राखे । हिन्दूराष्ट्रको बारेमा जनमतसंग्रह गुर्नुपर्ने उनको माग छ । उनले भने,‘जनमतसंग्रहबाट आएको मतलाई हाम्रो पार्टीले सम्मान गर्नुपर्छ ।’ उनले विधानमा पदाधिकारीको संख्या बढाउनुपर्नेमा जोड दिए । उनले सभापतिलाई हात बाँधेर काम गर्न नदिने वातारण बनाउन नहुनेपनि धारणा राखे ।

 महासमिति सदस्य मोहम्मद ईशाद अन्सारीले मुलुकलाई अब धार्मिक स्वतन्त्रतामा लैजानुपर्नेमा जोड दिए । मधेशमा कांग्रेसले आफ्नो जनमत किन गुमायो भन्नेबारे पनि यो महासमिति बैठकमा छलफल हुनुपर्ने उनको भनाई छ । मधेशको विकास र भलाई कांग्रेसले मात्रै गर्नसक्ने उनको जिकिर छ ।

प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस प्रदेश न. ७ का संसदीय दलका नेता डा. रणबहादुर रावलले गाउँदेखि केन्द्र तहसम्म पार्टीभित्र एकता आवश्यक रहेको बताए । उनले भने,‘हामीबीच एकता आवश्यक छ । देशमा कांग्रेसको विकल्प छैन । देशको विकास गर्ने नै कांग्रेसले मात्रै हो ।’ उनले महासमिति बैठकले नयाँ रणनीति तय गर्नुपर्ने धारणा राखे । त्यस्तै उनले पार्टीभित्र अब हिन्दूराष्ट्रको पक्षमा उभिनेबारे बहस सुरु भैसकेकोपनि जानकारी दिए ।

 महासमिति सदस्य लोकेश ढकालले कांग्रेस अब हिन्दूराष्ट्रको पक्षमा दृढ भएर उभिनुपर्ने धारणा राखे । उनले भने,‘कांग्रेसले अब आफूलाई वैचारिक रुमा करेक्शन गर्नुपर्छ ।’ बहुमत महासमिति सदस्यहरु हिन्दूराष्ट्रको पक्षमा उभिईसकेकोले अब कांग्रेस यसबाट ब्याक हुन नहुने उनको भनाई छ ।

महासमिति सदस्य नगेन्द्र कुमालले कांग्रेसले हिन्दूराष्ट्रको एजेण्डा उठाए कमल थापा नेतृत्वको राप्रपाकोजस्तै हालत हुने जिकिर गरे । उनले भने, ‘कांग्रेस लोकतन्त्रको हिमायती हो । कुनै धर्म विशेषलाई पक्ष बनाएर जानुहुँदैन् । हिन्दूराष्ट्र बनाएर गए कमल थापाकोजस्तै हालत हुन्छ ।’

पूर्व गृहराज्यमन्त्री एवम् महासमिति सदस्य रामकुमार चौधरीले कांग्रेसभित्र अहिले संकटको घडी देखिएको आरोप लगाए । उनले भने, ‘केन्द्रिय कार्य समितिले महासमितिलाई बन्धक बनाउन खोजेको छ । यो महासमितिको अपमान हो ।’
कांंग्रेस अहिले कमजोर अवस्थामा रहेको सुनाउँदै उनले भने, ‘जब–जब कांग्रेस कमजोर हुन्छ, तब–तब मुलुकको राष्ट्रिय एकता कमजोर हुन्छ । अहिले धर्मको नाममा युद्ध हुन लागेको छ ।’

 महासमिति सदस्य नन्दमणि राईले पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नरहेको धारणा राखे । उनले अहिले हिन्दुराष्ट्र बनाउने कुरा बेमौसमको बाजाजस्तै भएको बताए । उनले आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारे । उनले वर्तमान सरकारले दुई तिहाई बहुमतको अवमुल्यन गरिरहेको पनि आरोप लगाए ।

 महासमिति सदस्य सिता देवकोटाले पार्टीलाई विचारका आधारमा अघि बढाउनुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘अब व्यक्तिगत बहसलाई होईन, वैचारिक बहसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ ।’ उनले संविधान जारी गर्दा नै हिन्दूराष्ट्र बनाउनुपर्नेमा पार्टी चुकेको गुनासो पोखिन् । उनले कांग्रेसको समाजवाद र कम्युनिष्टले भन्ने समाजवादमा फरक रहेकोले जनतामा यो भ्रम चिर्नुपर्नेमा जोड दिइन् ।

 महासमिति सदस्य मोहम्मद सिद्दिकीले अब पार्टीभित्रै एक आपसमा लडेर बस्न नहुने धारणा राखे । सबै मिलेर अघि बढे कांग्रेस ठूलो पार्टी बन्ने उनको दाबी छ । उनले भने,‘कांग्रेस कमजोर छैन् । हामी मिलेर गयौं भने कम्युनिष्टलाई धुल चटाईदिन्छौं ।’