काँग्रेसमा लोकतान्त्रिक अभ्यास, सहमितिले सामुहिक नेतृत्व पद्धति परिपक्क

काठमाडौं । कांग्रेसको केन्द्रीय समिति बैठकबाट पार्टी पदाधिकारीको संख्या र  निर्वाचन पद्दतीबारे सहमति जुटेको छ । प्रस्तावित विधानका विभिन्न विकल्प माथि घनिभूत छलफल भएपछि  कोषाध्यक्ष बाहेक सभापति,  २ उपसभापति, २ महामन्त्री र २ सहमहामन्त्री निर्वाचनबाट चुनिने सहमति भएको छ ।

कोषाध्यक्ष र पार्टी प्रवक्ता भने  सभापतिले मनोनयन गर्ने नयाँ व्यवस्था गरिएको छ । छलफलमा विभिन्न विकल्प आएपछि अन्ततः उपसभापति २, महामन्त्री २ र, सहमहामन्त्री २ राख्ने कुरामा  सहमति भएको हो ।  पदाधिकारीको संख्या पार्टी सभापति शेरबहादुर देउवाले अघि सारेको प्रस्ताव हो भने निर्वाचन पद्धतिमा भने नेता रामचन्द्र पौडेलको अडानमा सहमति भएको । यसले पार्टीमा सहमति र सामुहिक नेतृत्वको भावनालाई थप उर्जा दिएको छ ।

अहिलेको विधानमा सभापतिसहित एक महामन्त्री र कोषाध्यक्ष मात्र पदाधिकारीमा निर्वाचित हुने व्यवस्था थियो । उपसभापतिसँगै एक महामन्त्री, सहमहामन्त्री भने सभापतिले मनोनित गर्ने र केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने व्यवस्था थियो । पछिल्लो पटक फोरम लोकतान्त्रिकसँग भएको राजनीतिक सहमतिका आधारमा एक उपसभापति थपिएको थियो ।

सभापति देउवा निकट नेताहरुले  सभापति बाहेक दुई दुई जना उपसभापति, महामन्त्री र सहमहामन्त्री राख्ने त्यसमध्ये एक एक जना निर्वाचित हुने र एक एकजना मनोनित हुने प्रस्ताव गरेका थिए । तर देउवा इतर नेताहरुले भने पदाधिकारी संख्या तीन तीन जना हुनुपर्ने तथा ती सबै पदाधिकारी निर्वाचनबाट चयन हुनुपर्ने प्रस्ताव गरेका थिए ।

बैठकमा पार्टी सङ्गठन, प्रस्तुत प्रतिवेदन र सरकारका काम कार्वाहीलगायत समसामयिक विषयमा छलफल जारी रहेको र सहमतिको विधान महासमिति बैठकबाट पारित गर्नु पर्ने भएकाले महासमिति बैठक लम्बिने प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ छ । महासमिति बैठक  पुस ४ गतेसम्म  यगम्बर पार्टी प्यालेसमा हुने छ । त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने पार्टी कार्यालयले जनाएको छ । त्यसका लागि पार्टी कार्यालयले टेन्ट टाङ्नेलगायत आवश्यक तयारीसमेत गरिरहेको बुझिएको छ ।

 १६१ सदस्यीय केन्द्रीय समितिमा ३३ प्रतिशत महिला

काँग्रेसको केन्द्रीय कार्यसमिति १६१ सदस्यीय हुनेछ, जसमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । जातीय क्लस्टरहरु पनि मिलाइने भएको छ । सहमतिलाई  केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नेछ । विधान संशोधन प्रस्तावलाई महासमिति बैठकमा पेश गरिनेछ

। नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा बोल्ने अधिकांश सहभागीले पार्टीमा भागबण्डा अन्त्य गरी सशक्त पार्टी बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । सहमतिले पार्टीमा कायम भागबण्डा अन्त्य हुने संकेत गरेको छ ।