सिक्टा सिँचाइ आयोजना अन्योल : बाँकेवासी निराश

बाँके । पश्चिम राप्ती नदीको पानीबाट सिँचाइ पु¥याई कृषि उत्पादनसँगै आर्थिक विकासलाई गति दिने उद्देश्यले सिक्टा सिँचाइ आयोजनाको निर्माण शुरु भयो । आयोजनासँगै समृद्धिको सपना देखेका बाँकेबासी अहिले निराश भएका छन् । बाँकेको समृद्धिका रुपमा लिइएको आयोजना सञ्चालनमा नआउँदै भत्किएपछि उनीहरु निराश भएका हुन् ।

त्रिचालीस वर्षअघि निर्माणको चर्चा चलेको सिक्टाको निर्माण कार्य शुरु भएको १३ वर्ष भयो । हालसम्म पनि निर्माणको चरणमै रहेको आयोजना परीक्षणका क्रममा भत्किएपछि बाँकेवासीमा निराशा छाएको हो । मनिकापुरका किसान नबुदिन यादव भन्छन्, “नहरबाट पानी आउँछ र हामीले गरेको खेतीबाट आम्दानी बढ्ला भनेको त भत्केर पो गयो । अब कहिले बन्छ होला ? हामीले खेतबारीमा पानी हाल्न पाउने हो कि होइन, कुन्नी ?”

बाँकेको अगैयामा बाँध निर्माण गरी सिँचाइका लागि पानी लैजान दुई भागमा निर्माण अघि बढाइएको सिक्टा सिँचाइको नहर परीक्षणकै क्रममा भत्किएको छ । पानी लैजान राप्तीवारि ४५. २५ किलोमिटर र पारि ५३.५० किलोमिटर मूल नहर निर्माणकै चरणमा छ । मुख्य बाँधसहित वारिपट्टिको मूल नहरको काम पूरा भइसकेको छ । वारिपट्टिकै नहरमा पानी बगाएर परीक्षण गर्ने क्रममा ठाउँ–ठाउँमा भत्कियो । नहर भत्किएसँगै बाँकेबासीले देखेका सपनाहरु पनि भत्किएका छन् ।

राप्तीसोनारी–२ का वडाध्यक्ष मदन वलीले भने, “पानी लैजाने क्रममा समस्या आयो, नहर नै फुट्यो । आयोजनाको लापरबाही र ठेकेदारबाट कमजोर संरचना निर्माण हुँदा समस्या आयो । यसको जिम्मेवार को हुने ? अब आयोजनाको भविष्य के हुने ? राज्यले चित्तबुझ्दो जवाफ दिनुपर्छ ।” दायाँ भागको २० देखि ३५ किलोमिटर खण्डबाट पानी लैजाने क्रममा पहिलो पटक २०७३ असार १४ गते नहर भत्किएको थियो ।

वडाध्यक्ष वलीका अनुसार अधिकाँश मूल नहरको निर्माण कार्य सकिएको केही समयमै भत्किएको हो । “निर्माण शुरु गर्दा हामीले काम गुणस्तरहीन भयो भनेर आवाज उठाएका थियौं,” वलीले भने, “त्यतिबेला हाम्रो कुरालाई बेवास्ता गरियो । अहिले ठूलो समस्या आयो ।” मूल नहरको २४ किलोमिटर भाग जीर्ण भइसकेको छ । ठेकेदारले छड र अन्य निर्माण सामग्री पनि कमसल प्रयोग गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

अहिलेसम्म यसको ५७ प्रतिशत मात्रै काम सकिएको छ । अझै ६३ प्रतिशत काम अधुरै छ । आगामी दुई वर्षभित्रै बाँकेका किसानका खेतबारीमा पानी पु¥याउने आयोजनाको लक्ष्य छ । निर्माण कार्यमा ढिलाइ भएपछि आयोजनाको लागत बढ्दै गएको छ । सिक्टाको मूल नहरको पानी धान्ने क्षमता ५० क्युसेक मानिएको छ । परीक्षण र बाढी आएका बेला उक्त नहर भत्किने गरेका कारण गुणस्तरमा प्रश्न उठ्ने गरेको हो ।