काङ्ग्रेस महासमिति : चार प्रतिवेदनमाथि छलफल, धारणा राख्ने क्रम जारी

काठमाडौं । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवदेन माथि सहभागीले आ–आफ्ना धारणा राख्ने क्रम बुधबार पाँचौँ दिन पनि जारी छ ।

बैठक राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफलमा जारी भए पनि पार्टीको विधान मस्यौदा प्रतिवेदन भने भोलिमात्रै पेश हुनेछ । यसअघि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले उक्त प्रतिवेदन बैठकमा पेश हुनसकेको थिएन ।

बैठकको पाँचौँ दिनदेखि जारी बन्द सत्रमा आजसम्म करीब १५० महासमिति सदस्यले आफ्ना धारणा व्यक्त गरिसकेको र हालसम्म ५०० भन्दा बढीले बोल्न नाम टिपाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रतिवेदनमाथि धारणा राख्ने क्रममा सहभागीले पार्टीलाई राजनीतिक एकता कायम गरी सशक्त बनाउन, सरकारका गलत कामको निगरानी गर्न खरो ढङ्गले उपस्थिति जनाउन, काङ्ग्रेसले विगतमा गरेका कामको राम्रोसँग सम्पेषण गर्नुपर्ने, आम नागरिकलाई छुने गरी आगामी योजना र कार्यक्रम बनाउनुपर्नेलगायतका सुझाव दिएका छन् ।

काङ्ग्रेस शीर्ष नेताले मङ्गलबार राति विधान मस्यौदा प्रतिवेदनमा देखिएको विवादको टुङ्गो लगाइसकेका छन् । सहमतिअनुसार अब पार्टीमा कूल १६१ केन्द्रीय समिति रहने र त्यसमा ३३ केन्द्रीय सदस्य समावेशिताका आधारमा सभापतिबाट मनोनीत हुनेछन् । त्यस्तै एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्षसहित आठ पदाधिकारी रहनेछन् । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने निर्णय भएको छ ।

काङ्ग्रेसको विधानमा हाल कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ । ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ शुरु भएको महासमिति बैठक झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन् ।