जनताको भोगाइ फरक, तर स्वास्थ्य सेवाबाट कोही नेपाली बञ्चित नहुने मन्त्रीको दावी

भक्तपुर । नीति अस्पतालमा पाइलै राख्न नसकिने महंगी छ । सरकारीमा पालै नपाइने र पाइहाले पनि डाक्टर अभाव हुने यथार्थ आम नेपालीले भोग्दै आएका छन् । अझ अस्पतालमा भएका डिपार्टमेन्ट धानेर बसेका सिमित डाक्टर बिदा बस्दा बिरामीले हप्तौँ कुर्नुपर्ने सत्य एकातिर भए पनि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले भने कोही पनि नेपालीले स्वास्थ्य सेवाबाट बञ्चित नहुनुपर्ने दावी गरेका छन् । उनले स्वास्थ्य सेवा र सुविधाबाट बञ्चि हुनुपर्ने अवस्था सरकारले आउन नदिने भाषण गरेका छन् ।

मन्त्रालयले भक्तपुरमा गरेको दुईदिने राष्ट्रिय वार्षिक समीक्षा कार्यक्रमको समापन गर्दै राज्यमन्त्री यादवले मन्त्रालयले सबै सरकारी अस्पताल र स्वास्थ्य संस्थामा प्रविधि विस्तार गरेर सेवा, सुविधा प्रभावकारी बनाउने उद्घोष पनि गरे । व्यवहारमा जे जस्तो भए पनि प्रतिबद्धताको कमी भने देखिएन ।

कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले देशभरका अस्पताल अनुगमन गरेर सेवा प्रभावकारी बनाउने बताए । देशभरका सरकारी अस्पताल र स्वास्थ्य संस्थाको सेवा प्रभावकारी नभएको गुनासो बढेको स्वीकार्दै सचिव अधिकारीले अब स्वास्थ्य सेवा चुस्त पारिने भन्न भने छोडेनन् ।

भक्तपुरमा आयोजित कार्यक्रमले स्वास्थ्य सेवाको गुणस्तर वृद्धि हुने, अस्पतालमा भएको प्रविधिको विकास गर्दै लगिने र हरेक बिरामीले स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपर्ने निष्कर्ष भने निकालिएको छ ।