जीवनको रहस्य

० अमित संग्रौला

निरन्तर बगिरहेको छ
माईखोला अनवरत उर्लिएर
युगौँदेखि अहिलेसम्म

उत्तरदेखि चिसो बतास
आइरहेको छ मुटुलाई छुने गरि
तिमी यसरी नै बगिरहनु
कहिल्यै नथाक्नु
हिँडिरहनु सत्यमा ।

जीवन के हो?
मरण के हो?
आज म यही माटोलाई छोएर
कसम खाँदैछु र भनिरहेको छु
मान्छे मरेपछि उसको
अहंकार कहाँ जान्छ?

मान्छेको चेतना कहाँ गएर बिर्सजन हुन्छ
आज म माईखोलाको शमसानघाट हेरिरहेकोछु

भन माई भगवती
तिम्रो आराधना हुन्छ
तिम्रै पूजा हुन्छ
यहीँबाट
एकदिन मरेर जान्छ मानिस
थाहा हुँदाहुँदै
मान्छेको अहंकार पनि
तिमी लिएर जान्छौं
आज मलाई जवाफ देउ।

माईखोलाको किनारै–किनार हिँड्छु
बैराग्य हुन्छु
जीवनको सत्यमा बिरक्तिन्छु म
मान्छेको चेतना कहाँ गएर बिर्सजन हुन्छ
आज म माईखोलाको शमसानघाट हेरिरहेकोछु
मान्छेको लोभ, ईश्र्या, अहंकार
यतिको घमण्ड कहाँ गएर सकिन्छ।

जीवनको यति ठूलो सत्यमाथि
स्वीकार गर्न सकिरहेका छैनन् मान्छेहरु
म कहिल्यै मर्दिन भनेर
अहंकार पालेर बसेका छन्।

जीवन के हो?
मृत्यु के हो?
आखिरीमा
जीवनको अम्तिम सत्य के हो?
यही शमसानघाटलाई नियाल
तिम्रो अहंकार, घमण्ड
क्षण भरमै शून्य हुनेछ
तिमीले महसुस गर्नेछौ
जीवनको रहस्य।

(बिर्तामोड, झापा)