‘यसो गरे कसो होला ?’ लिएर आए पत्रकार बजगाईं

काठमाडौं । पत्रकार लक्ष्मण बजगाईंको १६औं पुस्तक ‘यसो गरे कसो होला ?’ विमोचन गरिएको छ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले उक्त पुस्तकको विमोचन गरेका हुन ।

प्रमुख अतिथि पूर्वमन्त्री पोखरेलले पत्रकार बजगाईंद्वारा लिखित पुस्तक राज्यको लागि प्रतिपक्षका रुपमा आएको बताए । उनले भने, ‘पत्रकारीतामा लामो समयदेखि क्रियाशिल बजगाईंले धेरै पुस्तक लेख्नुभएको छ, १६औं पुस्तकका रुपमा ल्याउनुभएको यसो गरे कसो होला ? पुस्तक महत्वपूर्ण छ, यो पुस्तक सत्ताको लागि प्रतिपक्षी बनेर आएको छ, सरकारले धेरै कुरा सच्याउन र सुधार गर्न सहयोग गर्ने विश्वास लिएको छु ।’

विमोचन कार्यक्रममा लेखक बजगाईले मुलुमलाई समृद्धितर्फ अघि बढाउन सरकार र जनताहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने धारणा राखेका छन् । पुस्तक बारे बोल्दै बजगाईंले भने, ‘मैले यस पुस्तकमा २७ वटा उप–शिर्षकमा लेखेको छु, आर्थिक अनियमितता, विकास निमार्णका कामहरुमा ढिलाई, भ्रष्टचार न्युनिकरणका बारेमा, ठेकदारी प्राणालीले विकास निर्माणका कामहरुमा ढिलाएका विषयहरुलाई साधारण सम्पादकीय रुपमा लेखेको छु ।’

प्रकाशक राजेन्द्र प्रसाद सुवेदीले सरकारले विचौलियाहरुलाई घरजग्गा कारोबारमा अवैध घोषणा गरेर कारबाही गर्न माग गरेका छन् ।