राजधानीमै बलात्कृत युवतीको पीडा : न त न्याय, न त उपचार

ललितपुर । बिहे गरेको वर्ष दिन पुरा भएको थियो । गोदामचौरकी ‘ती’ महिलाका श्रीमान्, सासूससुरालगायत परिवारका सदस्य उनीदेखि खुसी थिए । तर त्यो खुसीमा २०७४ मंसिर २ गते साँझ एक्कासि बज्रपात आइलाग्यो । उनको जीवनमा एकाएक अन्धकार छायो ।

मंसिर २ गते माइती घरबाट घर फर्किरहेकी तीं २१ वर्षिया महिलामाथि सामूहिक बलात्कार मात्र भएन, ज्यानै मार्ने कोसिस गरियो । रातभर श्रीमान र परिवारले उनको खोजी गरे पनि कुनै पत्तो लागेन । ३ मंसिरमा तोरीबारीमा अचेत अवस्थामा उनी टाउकोमा ढुंगा प्रहार गरिएको अवस्थामा फेला परिन् ।

दाहिने आँखा र कानले एक वर्ष हुँदा पनि काम गर्दैन । कानको छेउका हड्डी भाँचिएका छन्। दाहिने हात चल्दैन । आज पनि उनी उपचाररथ छन् । उपचारमा लागेको ऋण तिर्न उनको परिवारले तीन आनामा बनेको घर मात्रै बेचेनन्, माइतीपक्षले पनि तमामौँ ऋण खोजेर खर्च गरिसके । तर उनका अभियुक्त भने अझै खुला रुपमा घुमिरहेको पीडित पक्षको गुनासो छ ।

पीडितको हात र टाउकोमा गरी ३० भन्दा बढी टाँका लगाइएको छ । ज्यान मार्ने उद्योग, सामूहिक बलात्कार र चोरी मुद्दाका अभियुक्तलाई ललितपुरका तत्कालीन जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारेखमा रिहा गरिदियो । जबकी ज्यान मार्ने उद्योग र सामूहिक बलात्कारको मुद्दामा साधारण तारेखमा छोड्न नमिल्ने कानूनी व्यवस्था छ ।
 यस्तो थियो घटना
‘तीं’ महिला उनी काम सकेर घर फर्कँदै थिइन् । घरबाट सासूको फोन गरेर छोरासँगै आउन सुझाइन्। उनले श्रीमानलाई फोन गरिन् । हात्तीवनमा भएका श्रीमानले समय लाग्ने भनेपछि उनी एक्लै घरतिर हिँडिन् । साँझ भइसकेकाले बाटोमा एक व्यक्तिले उनको बाटो छेके । त्यसपछि अरू दुई चार जनाको नामै लिएर उनलाई रोक भने ।

ती व्यक्ति रघु सिलवाल भएको दावी ती महिलाको छ । सिलवालले नै उनलाई बाटोबाट तल घकेलेर एकान्तमा खसालेका थिए । उनी चिच्याइन्, तर कसैले सुनेनन् । उनको मुख थुनियो । जोरजबरजस्तीपछि बलात्कार गरियो। ढुंगाले हात किचियो, अन्ततः मरेको ठानेर त्यहीँ फालियो।

श्रीमानको घर आउने बाटो त्यही भए पनि उनले ती महिलालाई देखेनन् । घटना भएको पुरा रात परिवारले उनको खोजी गर्यो । बिहान पाँच बजेमात्रै खोलाछेउको तोरीबारीमा उनलाई बेहोस अवस्थामा परिवारका सदस्यले भेटाएको पीडितकी आमाले बताइन् ।

बलात्कारमा संलग्नलाई अदालतले सामान्य तारेखमा छोडेपछि निराश परिवार फेरि बलात्कारमा संलग्नमध्ये केहीलाई पक्राउ गरेको सुन्दा खुसी भएको छ । ‘तर पनि शंका छ, फेरि पनि पहिजाजस्तै छोडिने हो कि !’, पीडित महिलाकी आमाले भनिन् ।

अदालतले डीएनए परीक्षणको रिपोर्ट आउनुभन्दा पहिल्यै अघिल्लोपटक अभियुक्तलाई रिहा गरेको घटनाप्रति पीडित महिलाका परिवारको आपत्ति छ । अधिकारवादी पनि नबोलेकोमा आश्चर्य व्यक्त गर्छन । घटना भएको स्थानमा छोरीको सुरुवाल फालिएको, पर्सबाट पैसा झिकिएको र रगत लागेको ढुंगा भेटिए पनि प्रहरीले प्रमाण नष्ट गरेको पीडित युवतीकी आमाको दावी छ ।

न्याय नपाए पनि उनीहरुको घर र माइतीपट्टि दुबै परिवार ऋणमा छ । पीडित युवती अझै निको हुन सकेकी छैनन् । सासूससुरा अर्काको घरमा बस्दै आएका छन्। पीडित युवती र उनका श्रीमान् माइतीको घरमा बस्दै आएका छन् । पीडकलाई कानुनी दायरामा ल्याउनुभन्दा पनि पीडित परिवारलाई उल्टै धम्की आउने क्रम जारी रहेको पीडित परिवारका सदस्यले बताएका छन् । पीडित युवतीकी आमा भन्छिन्, ‘हाम्रो लाखौं रुपैयाँ सकिदियौ, अब पैसा असुल्छौँ भनेर धम्की दिइरहेका छन्।’

प्रहरीका अनुसार अभियुक्तहरू रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई अदालत पठाइएको छ। तीनै जनालाई जबरजस्ती करणी, ज्यान मार्ने उद्योग र जबर्जस्ती चोरी मुद्दा चलाइएको छ। पीडकहरुले भने पीडित परिवारलाई माइती, मावलीदेखि नातागोता सकिदिने धम्की दिइरहेको पीडितकी आमाले दुखेसो गरेकी छिन् । तर पनि पैसला के हुने हो भन्ने प्रतिक्षामा पीडित र उनका परिवार छन् ।