पाँचौपटक आईपीएलको उपाधि मुम्बईलाई

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको उपाधि मुम्बई इण्डियन्सले हात पारेको छ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हिजो राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई १३ औं संस्करणको च्याम्पियन बनेको हो।

दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाउँदै परा गरेको हो। मुम्बईको जितमा कप्तान रोहित शर्माले सर्वाधिकह ६८ रनको अर्धशतकीय इनिङ्स् खेले।

उनले ५१ बलमा ४ छक्का र ५ चौका प्रहार गरेका थिए। इशान किसनले अविजित रहँदै ३३ रन जोड्दा हार्दिक पाण्डयले ३ रन जोडे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो।

दिल्लीका एनरिच नोर्टजेले २ तथा मार्कुस स्टोनिस, कागिसो राबडाले १–१ विकेट लिए। दिल्लीका लागि कप्तान श्रेयस आयर र ऋषब पन्तले अर्धशतकीय इनिङ्स् खेले।

खराब सुरुवात गर्दै २२ रन जोड्दा ३ विकेट गुमाएको दिल्लीका लागि पन्त र आयरले चौंथो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए।

यससँगै मुम्बईले पाँचौ पटक आईपीएलको उपाधि जितेको छ। मुम्बई पाँच पटक आईपीएल जित्ने पहिलो टिम हो। मुम्बईले यस अघि सन् २०१३ ,१५, १७ र सन्२०१९ मा उपाधि चुमेको थियो। मुम्बईले लगातार दोस्रो वर्ष आईपीएलको उपाधि जितेको हो।