प्रदुषणविरुद्ध नेवि संघको ‘मास्क मुभमेन्ट’

काठमाडौं, ५ पुुस । स्वच्छ वातावरणका लागि ‘मास्क मुभमेन्ट’ चलाएको नेपाल विद्यार्थी संघले विहीबार काठमाडौं महानगरपालिकामा ज्ञापनपत्र बुुझाएको छ । तीन हजार भन्दा बढिको संख्यामा विद्यार्थीहरू यो अभियानमा जोडिएका थिए । अभियन्ताले महानगर उपप्रमुख हरिप्रभा खड्गीलाई ज्ञापनपत्र बुझायो ।

स्वच्छ वातावरणका लागि हरित सहरको परिकल्पना अभियानले गरेको छ । यसैले पनि ¥यालीमा सहभागी भएका कतिपय विद्यार्थीले रूखका चित्र अनुहारमा टाँसेका थिए । वातावरणमैत्री नारा र प्रदुषण नियन्त्रणका उपायसहितका जानकारी लेखिएका कपडा लगाएका थिए ।
अभियानमा सहभागी रहेका विद्यार्थी नेता तथा अभियन्ता मनिष सिम्खडा भन्छन्,‘हामीले यो अभियान निक्कै लामो समयदेखि चलाएका थियौं । अहिले महानगरको ध्यान आकर्षण गराउनका लागि ज्ञापनपत्र बुझाएका हौं ।’

नेपाल विद्यार्थी संघको झन्डा पनि देखिएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको थियो । तर, यो कुनै राजनीतिक ¥याली नभएर वातावरण प्रदुषणविरुद्धको अभियान थियो ।

यो अभियान लामो समयदेखि नेवि संघका केन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा चलेको थियो । काठमाडौंका प्रायः सबै क्याम्पस र कलेजमा अभियान चलाइसकिएको थियो । ‘वातावरणीय प्रदूषणका कारण काठमाडौंमा बाँच्न नै कठिन भइसकेको छ । यसमा महानगरपालिकाले ध्यान दिएको पाइएन, दबाबका लागि कार्यक्रम गरेका हौं’, त्रिपाठी भन्छन्,‘स्थानीय सरकारको दायित्वमा पर्ने काममा किन ढिलाई गरिएको हो ? स्वच्छ काठमाडौंको नाराले मात्र पुग्दैन ।’

वायु प्रदूषणको प्रभाव स्वास्थ्यमा मात्रै सीमित छैन । यसको नकारात्मक असर आर्थिक तथा सामाजिक क्षेत्रमा समेत परिरहेको छ । पर्यटक आगमन, सडक तथा हवाई आवागमन, शहरी सुन्दरतादेखि बसाइँसराइमा समेत प्रदूषणले प्रभाव पारिरहेका कारण सांकेतिक रूपमा मास्क मुभमेन्ट गरिएको त्रिपाठीले बताए ।

काठमाडौंमा प्रदूषण ज्यादा भएका कारण नै पर्यटन व्यवसायीहरू सकेसम्म धूलो कम भएको मौसममा पर्यटक बोलाउँछन् । फागुन, चैत र वैशाखमा धूलोकै कारणले पर्यटक कम आउँछन् । ¥यालीमा काठमाडौंका विभिन्न क्याम्पस, कलेजलगायत शैक्षिक संस्थामा रहेका विद्यार्थीको उपस्थिति थियो । उनीहरू वातावरण प्रदुषण नियन्त्रणका उपाय सम्बन्धी तुल र प्लेकार्डसहित महानगरपालिका पुगेका थिए ।