० धर्मानन्द भट्ट
तिमीले घर सजाएर अनि पाली सजाएर
राखेकी रहेछौ पूजाको थाली सजाएर।
नयाँ जस्तै देखिन्छन चम्काएर तिमीले,
पुरानो घरका भित्ताहरू टाली सजाएर।
जति माया गर्छौ त्यति ख्याल गरेर बस,
जसरी बस्छ बगैचा एक माली सजाएर।
कस्लाई पर्खेर बसेकी थाहा छैन तिमीले,
आँखामा गाजलु ओठमा लाली सजाएर।
कमजोरीहरू कमजोर भएछन देखिदैनन्,
चन्द्रमा जत्तिकै देखिन्छौ काली सजाएर।
अब कसलाई कुर्दैछौ को आउँदै छ घरमा
राखी हातमा सिङ्गै फूलको डाली सजाएर।