राष्ट्रपति, चिनियाँ राजदूत र दोस्रो तहका नेता सक्रियः नेकपामा लागेको संकटको बादल टर्ने संकेत

काठमाडौं– भदौ २६ मा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले गरेका निर्णय विपरित पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अगाडि बढेपछि नेकपामा बढेको विवाद पुनः उत्कर्षमा पुगेको छ।

ओलीले मनपरी मन्त्रि नियुक्त गरेको, राजदूतदेखि संवैधानिक निकायमा नियुक्ति दिएको, भारतीय गुप्तचर संस्थालाई भेटेको, भ्रष्टाचार र अपराधजन्य घटनामा काम गर्न नसकेको र कोरोना महामारीबाट जनतालाई जोेगाउन सरकार उदासिन रहेको भन्दै उनको पार्टीभित्रै आलोचना सुरु भयो।

अर्का अध्यक्ष पुष्पकमल दाहालले बहुमत सदस्यसहित पार्टीको सचिवालय बैठक बोलाउन लिखित रुपमै माग गरेपछि ओलीले त्यसलाई अटेरी गर्दै आएपछि विवाद झन चर्कियो ।

त्यसपछि लिखित प्रस्तावसहित आज बुधबारका लागि दाहाललगायत बहुमत सदस्यले सचिवालय बैठक बोलाएपछि मंगलबारदेखि विभिन्न पक्षबसँगको परामर्श र सक्रियता बढ्यो।

त्यस क्रममा अध्यक्ष दाहलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे। त्यसलगत्तै चिनिया राजदूत हाउ यान्छीले बालुवाटारमै पुगेर राति नौ बजे करिब डेढ घन्टा मरामर्श गरिन्।

त्यसलगत्तै र आज विहान प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गरे। पार्टीमा दोस्रो तहका नेता नेकपा स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, कृषि मन्त्री घनश्याम भुसालले दाहाल–नेपाल पक्षतिर भूमिका खेलेको र ओली पक्षमा महासचिव विष्णु पौडेलसहितका नेताहरुले भूमिका खेलेको भन्दै पार्टीमा देखिएको संकट केही समय टर्ने देखिएको छ।

त्यसको संकेतका रुपमा सचिवालय बैठक बोलाइएकै बेला प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद बैठक एक घन्टा सारिनुले पनि संकेत गर्छ। तर आजको बैठक सामान्य छलफल र ओलीले दाहालको लिखित प्रस्ताव फिर्ताको आग्रह गरेर टुंगिने अनुमान गरिएको छ।

यद्यपित विगतमा नेकपा फुटको संघारमा पुग्दा पनि चिनियाँ सक्रियताले विवाद समाधान भएको कुरा बाहिर आएको थियो। यसपटक पनि चिनिया राजदूत मध्य राति बालुवाटार पुगेलगत्तै र राष्ट्रपतिसँगको पटकपटकको परामर्शपछि ओली सचिवालय बैटकमा उपस्थित हुन राजी हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।