सुदूरबाट उदाय रवि

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा निकै चासो र चर्चाको विषय शुक्रबार अबेर टुंगोमा पुगेको छ । चर्चित सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि सुदूरपश्चिमका प्रतिभा रवि ओडले हात पारेपछि सुदूरपश्चिम क्षेत्रमा खुसीको रौनक छाएको छ । उसो त रवि देशकै प्रतिभाका रुपमा स्थापित भएकाले उनको जितमा सिंगो मुलुकले खुसी मनाइरहेको छ ।

शुक्रबार भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै कञ्चनपुरका ओडले उपाधि हात पारेका हुन् । निकै कमजोर आर्थिक अवस्थाका रवि जो झुपडीमा हुर्किएर पनि होनहार प्रतिभाका रुपमा उपस्थित भए, यो खुसीमा सिंगो मुलुक दंग परेको छ । नेपाल आइडल–२ को उपाधि जितेसँगै उनले २२ लाख, कार र गोल्डेन ट्रफी हात पारेका छन् ।

आइडलको फस्र्ट रनरअप गण्डकी प्रदेश, कास्कीका विक्रम बराल बनेका छन् उनले २० लाख पुस्कार हात पारे भने सेकेण्ड रनरअप बनेकी प्रदेश नं १, झापाकी सुमित पाठकले १२ लाख पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताको थर्ड रनरअप प्रदेश नं १ कै झापाकी अस्मिता अधिकारी भइन् । उनले स्कुटर पुरस्कार पाइन् ।

सुदूरपश्चिम प्रदेश ,कन्चनपुर २ कृष्णपुरका रवि नेपाल आइडल बनेपछि सोही क्षेत्रका प्रभावशाली नेता, सामाजिक अभियन्ता, व्यापारी, विद्यार्थीलगायतले वधाइ दिने क्रम जारी छ । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले ‘रविको सफलताले आफूलाई खुसी लागेको र थप उत्तरोत्तर प्रतिको कामना गर्छु’ भन्दै फेसबुममार्फत खुसी जनाएकी छिन् ।

नेपाली काँग्रेसका प्रभावशाली नेता पूर्वमन्त्री एन पी साउदले आफ्नै क्षेत्रका रवि नेपाल आइडल बनेपछि समाजिक सञ्जालमार्फत खुसी तथा बधाई दिएका छन् । उनले ‘नबोदित प्रतिभा रबि वड नेपाल आइडल बन्न सफल हुनु भएकोमा हार्दिक बधाई छ ।सुन्दर सुदूरपश्चिम र देशको नाम उच्च राख्न भबिष्यमा समेत निरन्तर सफलता मिल्दै गरोस, सफलताको शुभकामना ब्यक्त गर्दछु’ भन्दै बधाई दिएका छन् ।

रवि ओडको सफलतामा धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले सुशी जनाउँदै भनेका छन्, ‘रविले नेपाल आइडलको उपाधि हात पारेकोमा सम्पूर्ण सुदूरपश्चिम प्रदेशका जनतालाई बधाई । थप प्रगतिको कामना गर्दछु ।’