पोखरामा एकै दिन सात जना कोरोना संक्रमितको ज्यान गयो

पोखरा । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट एकै दिन सात जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका १७ का २९ वर्षीय पुरुष छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज शुक्रबार मृत्यु भएको हो। निमोनियाले च्यापेर अस्पताल भर्ना भएका उनलाई आजै कोरोना पुष्टि भएको थियो।

यसरी मृत्यु हुनेमा पोखरा महानगरपालिकाका ६ जना र तनहुँका एकजना पुरुष गरि सात जना रहेका छन्।

आजै पोखरा महानगरपालिका १३ का ५५ वर्षीय अर्का पुरुषको निधन भएको छ। उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। मिर्गौलासम्बन्धी समस्या भएका उनलाई आजै कोरोना पुष्टि भएको र निमोनियाले समेत च्यापेको थियो।

शुक्रबार नै पोखरा ८ का ५४ वर्षीय पुरुषको मृत्यु भएको छ। मिर्गौलासम्बन्धी रोगबाट पीडित उनलाई २७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी पनि निमोनियाबाट ग्रसित थिए।

त्यस्तै पोखरा २१ का ७५ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। निमोनियाले ग्रसित उनलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो।

पोखरा २७ कै ७१ वर्षीय पुरुषको बिहीबार राति नै गण्डकी मेडिकल कलेजमा मृत्यु भएको अस्पतालले जनाएको छ। २७ कात्तिकमा कोरोना पुष्टि भएका उनलाई श्वासप्रश्वासमा समस्या देखिएको र निमोनियाले समेत च्यापेको थियो।

पोखरा ९ का ६८ वर्षीय पुरुषको पनि बिहीबार राति उपचारका क्रममा मृत्यु भएको छ। निमोनिया भएर अस्पताल भर्ना भएका उनलाई बिहीबार कोरोना पुष्टि भएको थियो।

त्यस्तै म्याग्दे गाउँपालिका ४ तनहुँका ५१ वर्षीय पुरुषको पनि गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ। शुक्रबार विहान मृत्यु भएका उनलाई ३ मंसिरमा कोरोना पुष्टि भएको थियो ।