कोरोना महामारीकै बीच शे–फोक्सुण्डो भ्रमणमा संसदीय टोली

डोप्ला । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिसहितको संसदीय टोली शे–फोक्सुण्डो पुगेको छ।

स्थलगत अध्ययन भ्रमण गर्न समितिकी सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा समितिका सदस्य भवानीप्रसाद खापुङ, भूपेन्द्रबहादुर थापा र राजबहादुर क्षेत्रीको टोली शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पुगेको हो।

टोलीले निकुञ्ज क्षेत्रको स्थलगत अध्ययन गर्नाका साथै निकुञ्जका विषयमा स्थानीयबासीसँग छलफल गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

टोलीले निकुञ्ज क्षेत्रका विभिन्न गाउँवस्तीमा बसोवास गर्ने स्थानीयसँग संरक्षणका गतिविधिमा छलफल गर्ने बताइएको छ।

निकुञ्जका निमित्त संरक्षण अधिकृत सरोजमणि पौडेलले भने, ‘निकुञ्जको मुख्य क्षेत्रमा मात्रै २४ गाउँबस्ती छन्। स्थानीयबासी आवश्यकता र विकास निर्माणका कुरा छन्। निकुञ्जका ऐनकानूनले निकुञ्ज क्षेत्रमा विकास गर्नुपूर्व राष्ट्रिय निकुञ्ज विभागको अनुमति लिनुपर्ने प्रावधान राखेको छ।’

निकुञ्ज, स्थानीय सरकार र नागरिकबीच विवाद नआउने किसिमले नयाँ ऐन कानून निर्माण गर्ने कि, भएको कानूनलाई थप कडाइ गर्न सघाउने भन्ने विषयमा समेत संसदीय टोलीको विशेष चासो रहेको निकुञ्जको भनाइ छ।

निकुञ्ज क्षेत्रभित्र पाइने बहुमूल्य जडीबुटीको उपभोग जिल्लाका नागारिकले मात्रै गर्न पाउने व्यवस्था गरेमा निकुञ्ज संरक्षणमा थप सजिलो हुने जनाइएको छ।