बैतडीमा ४७९ जनाले जिते कोरोना, कुन पालिका भए कोरोना संक्रमण शून्य

बैतडी । बैतडीमा महामारी फैलिएयता हालसम्म ४७९ जनाले कोरोना जितेका छन्।

गत जेठ ९ गते जिल्लामा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको थियो। हालसम्म ५०० जनालाई सङ्क्रमण पुष्टि हुँदा २० जना अझै सक्रिय सङ्क्रमित रहेका छन्। बैतडीमा हालसम्म एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

जिल्लाको पाटन नगरपालिकाका ७६ जनाले कोरोना जितेका छन्। पाटनमा ८२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

यस्तै दशरथचन्द नगरपालिकाका पनि ८२ जनामा सङ्क्रमण पुष्टि हुँदा ७४ ले कोरोना जितेका छन्। यसका साथै पञ्चेश्वर गाउँपालिकाका ६२, सिगास गाउँपालिकाकाका ५५, शिवनाथ गाउँपालिकाका ५१, दोगडाकेदार गाउँपालिकाकाका ४८, मेलौली नगरपालिकाका ४७ जनाले पनि कोरोना जितेका छन्।

सूर्नया गाउँपालिकाका ३५, पुर्चौडी नगरपालिकाका १९, डिलाशैनी गाउँपालिकाका १२ जना सङ्क्रमित डिस्चार्ज भएका बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिए।

जिल्लाको दशरथचन्द नगरपालिकामा आठ, पाटन नगरपालिकामा ६, सूर्नया गाउँपालिकाका चार, पञ्चेश्वर गाउँपालिकाका र दोगडाकेदार गाउँपालिकामा एक–एक जना सक्रिय सङ्क्रमित छन्।

शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिका भने कोरोनाका सक्रिय सङ्क्रमित शून्य भइसकेका छन्। हालसम्म बैतडीमा ६ हजार ४८२ को पीसीआर परीक्षण गरिएको छ।