वनवास!

कविता

० लीला अनमोल

ओ सरकार!
म नाङ्गो लड्याइएकी छु
आऊ, तिमी पनि मलाई बलात्कार गर
बेच मेरा सपनाहरू
भत्काऊ मेरा चाहनाहरू
गिजोलेर मेरो छाती
तिमी आफ्नो रहरको आपूर्ति गर!

ढलेको धरहरा जस्तो
निशब्द लडेकीछु म
तिम्रा सामुन्ने उत्तानो
भोगेर मेट आफ्नो तृष्णा
तिम्रा कुरुपताहरूको हेक्का राख्ने
ल्याकत बोकेर लडेकीछु
बेसरम खन्याइदेऊ आफ्ना लाजहरू
घोप्ट्याइदेऊ कुन्ठित रहरहरू!

पक्षघात भएका तिम्रा चेतनाहरूले
थिलथिलो भएकैछ मेरो शरीर
उन्माद रित्याएर भोग अझै
बेसरम रमिता हेर्नेहरूको भीड
वर्षौँदेखि हेर्दै आएकी म
अस्मिता बेचिएको भूगोलबाट
नियालिरहेकिछु अझै पनि।

मेरो बैँस निचोरेर बहादुर बनेका हिटलरहरू हो
आवो,
बाँकी छु अलिकती अझै
निमोठेर मेरो अस्मिता
तिमी महिला स्वतन्त्रताको वकालत गर!

ओ !
मेरो बैँस निचोरेर बहादुर बनेका हिटलरहरू हो
आवो,
बाँकी छु अलिकती अझै
निमोठेर मेरो अस्मिता
तिमी महिला स्वतन्त्रताको वकालत गर!
उठाएर महिलाकै ‘इसु’हरू
गर संवेदनाको राजनीति
सरम पचाएर।

देशको ढुकढुकी छाम्नेहरू होसियार
कैद गरेर थुनिन्न जनताको चेतना
मेरो अस्मिता नामेट पारेर
बहादुरी देखाउनेहरू होसियार!

तिम्रो बैशको उन्मादी रङ
आलै छ मेरो फरियाभरी
बौद्धिकता गिरेर बिसाएको
तिम्रो उछृङ्खलताको पराकाष्ठा
छरिएकोछ मेरो कोठाभरी।

यतिबेला मेरो सरकार!
मेरो अस्मिताको राजनीति गरेर
महिला अधिकारको वकालत गर्छ
र समानताको नारा उचालेर
मैमाथि धावा बोल्छ

न्याय?
बैँसको कोठाबाट मैमाथि आक्रमण गर्छ

होसियार!
परिवर्तनको सुस्केरा हालेर
लोकतन्त्रको गीत गाउनेहरू होसियार
सुरक्षित छन्
तिम्रा कर्तुतका काला दस्ताबेजहरू
पत्रिकाका हेडलाइन र सिसिटिभीका फुटेजहरू
रोशनी, रमला र रिजिनाका
आँखाबाट बगिरहेछ बिद्रोह।

सत्ताको सौन्दर्य विचलन र अपचलन गरेर
स्वर्थको गर्जन सुनाउँदै
देश मुर्दा बनाउनेहरू होसियार
तिम्रा कर्तुतका कंकालहरू जागेर
शहर पसेको छ।

सडकमा उभिएर समानताको सङ्खघोस गर्नेहरू होसियार
तिम्रा काला कर्तुतहरू ब्युँझिदैछन् टुडिखेलमा
तिम्रा रासलिलाका कथाहरू
मन्दिर, गूठीका ब्यथाहरू
निस्किँदैछन जुलुस भएर।

सत्ताको सौन्दर्य विचलन र अपचलन गरेर
स्वर्थको गर्जन सुनाउँदै
देश मुर्दा बनाउनेहरू होसियार
तिम्रा कर्तुतका कंकालहरू जागेर
शहर पसेको छ।

तिम्रो चिन्तन चिता भएको छ
तिम्रो दर्शन दशा भएको छ
हेक्का रहोस,
१४ वर्षको वनबासपछि
राम अयोध्या फर्किएका थिए!

(झापाकी कवि, अनमोल एक अधिकारकर्मी र शसक्त आवाज बोल्ने संचारकर्मी हुन्)