राजधानीमै घर भए पनि घर भाडा लिने सुदूरका सांसद !

डोटी । काठमाडौंमा घर भएका सांसदले घर भाडा लिएको समाचार नयाँ पत्रिका मार्फत बाहिरिएपछि त्यसवापत लिएको रकम फिर्ता गरिरहेका बेला सुदूरपश्चिम प्रदेशका सांसदले भने घरभाडा लिइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको कैलालीमा घर भएका प्रदेश सांसदले घर भाडावापतको रकम लिइरहेको पाइएको हो ।

प्रदेशस्थित संसद् सचिवालयका अनुसार कैलालीमा घर भएका ११ सांसदले कैलालीमा आफनो घर नभएको भन्दै महीनैपिच्छे घर भाडावापतको रकम लिइरहेका हुन् । राजधानीमै घर भएर पनि घर भाडा लिने सांसदमा कैलाली क्षेत्र नं ४ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद तथा बर्खास्त भएका पूर्वमन्त्री दीर्घ सोडारी, कैलाली क्षेत्र नं ५ ‘ख’ बाट निर्वाचित काङ्ग्रेस सांसद डिल्लीराज पन्त, काङ्ग्रेसका समानुपातिक सांसद टेकबहादुर रैका, कैलाली क्षेत्र नं ३ बाट निर्वाचित नेकपाका सांसद वीरमान चौधरी, नेकपाकी समानुपातिक सांसद सुशीला बुढाथोकी, राजपाकी समानुपातिक सांसद मालामती राना, क्षेत्र नं ५ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद नेपालु चौधरी, नेकपाकी समानुपातिक सांसद चुनकुमारी चौधरी, नेपाली काङ्ग्रेसका सांसद दिव्येश्वरी शाह, डोटीबाट निर्वाचित सांसद काङ्ग्रेस सांसद भरतबहादुर खड्का र कञ्चनपुरबाट समानुपातिक सांसद बनेका काङ्ग्रेस नेता देवराज पाठक रहेको बताइएको छ ।

संसद सचिवालयका अनुसार सभामुख र उपसभामुखबाहेक अन्य सबै सांसदले घर भाडावापतको रकम लिइरहेका छन् । मुख्यमन्त्री, मन्त्री तथा सभामुख र उपसभामुखले सरकारी आवास सुविधा पाएकाले घरभाडा नपाउने नियम छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमा घर भएका सांसदले घर भाडावापत रकम लिएको भन्ने सुन्नमा आएको र आफूलाई सो विषयमा आधिकारिक जानकारी नभएको बताए । घर भाडावापत विपक्षी दलका नेताले मासिक २० हजार, सत्तापक्षको प्रमुख सचेतक र सभापतिले १८ हजार, सत्तापक्षका सचेतक र विपक्षी दलको प्रमुख सचेतकले १८ हजार र सांसदले १७ हजारका दरले मासिक रुपमा पाउने प्रावधान छ । रासस