बैंकहरुको व्यापार बढ्यो, ब्याज नउठेपछि आम्दानी घट्यो

काठमाडौं। सञ्चालनमा रहेका २७ मध्ये २० वटा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा घटेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा (साउनदेखि असोज मसान्तसम्मको) बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार वितरणयोग्य नाफा घटेको देखिएको हो। औसतमा बैंकहरुको वितरणयोग्य नाफा ५४ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको असोजमा ८ अर्ब २६ करोड यस्तो नाफा रहेको बैंकहरुको यो रकम यसपालि ३ अर्ब ७६ करोड रुपैयाँ मात्र छ। असारमा यो ३२ अर्ब १९ करोड थियो।

कोरोनाका कारण व्यापार व्यवसाय चल्न सकेका छैनन्। धेरैभन्दा धेरै व्यवसायलाई राष्ट्र बैंकले ऋण तिर्ने समय थप गरिदिएको छ। यस कारण बैंकहरुको ब्याज उठ्न समस्या भएर नाफा प्रभावित भएको हो।

नाफा घटेसँगै बैंकहरुले सरकारलाई तिर्ने आय कर पनि प्रभावित भएको छ। अघिल्लो असोजमा ६ अर्ब ५६ करोड रुपैयाँ छुट्याएका बैकले यसपाली ६ अर्ब ६ करोड रुपैयाँ छुट्याएका छन्।

बैंकहरुको कर पछिको खुद नाफा पनि साढे ६ प्रतिशतले घटेको छ। अघिल्लो असोजमा बैंकहरुको खुद नाफा १५ अर्ब ६२ करोड थियो। यसपाली १४ अर्ब ६० करोडमा खुम्चिएको छ। गत आर्थिक बर्षभरी बैंकहरुले ५४ अर्ब ३१ करोड खुद नाफा गरेका थिए।

२७ वटामा ८ वटा बैंकको मात्र खुद मुनाफा बढेको छ। सर्वाधिक खुद नाफा बढ्नेमा एनएमबि बैंक छ। बैंकको १७० प्रतिशतले नाफा बढेको छ। यसपछि प्राइमको ५४ प्रतिशत, कुमारीको ५० प्रतिशत, सिटिजन्सको ४८ प्रतिशत, नेपाल बंगलादेश बैंकको ४२ प्रतिशत, मेगाको ३९ प्रतिशत, प्रभुको ३५ प्रतिशत र एनआईसी एसियाको एक प्रतिशतले खुद नाफा बढेको छ। बाँकी सबै घाटामा छन्। सर्वाधिक घट्नेमा नेपाल एसबीआई, एभरेष्ट, हिमालयन, सेञ्चुरी, सिभिल बैंक छन्।

यद्यपि रकमका हिसाबले सबैभन्दा बढि नाफा ग्लोबल आईएमई बैंकले गरेको छ। जनता बैंकसँगको मर्जरको फाइदा बैंकलाई भएको हो। बैंकले एक अर्ब ५ करोड नाफा गरेको छ। अर्बमाथि नाफा गर्नेमा ग्लोबल आईएमईसँगै अरु तीन बैंक छन्।

दोस्रोमा नबिल बैंकले एक अर्ब ३ करोड, एनआइसी एसियाले एक अर्ब २ करोड र प्राइमले एक अर्ब एक करोड नाफा गरेको छ। प्राइमलाई पनि मर्जरले माथि उकासेको छ। सबैभन्दा कम नाफा सिभिलको छ। सिभिलको ९ करोड ६६ लाख रुपैयाँ मात्र नाफा छ।

एक बर्षको बीचमा बैकहरुको ब्यापार निक्कै बढेको छ। तर ब्याज आम्दानी बढ्न सकेको छैन। बैंकहरुले पोहोरको भन्दा कम अर्थात ३३ अर्ब ६२ करोड खुद ब्याज आम्दानी गरेकोमा यसपाली ३२ अर्ब १४ करोड रुपैयाँ मात्र आम्दानी गरेका छन्।

जबकी ब्यापार २६ खर्ब १९ अर्बबाट बढेर ३० खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। बैंकहरुको निक्षेप पनि ३० खर्बबाट ३६ खर्ब ७२ अर्ब पुगेको छ।