गजल

० धार्मानन्द भट्ट

प्रेम बिनाको महल पनि सम्सान जस्तै लाग्छ
सायद प्रेममा पीडा पनि बरदान जस्तै लाग्छ

सफर होस कुरा बुझ्ने मित्रहरूसँग, यति भए,
कठिन यात्रा जिन्दगीको आसान जस्तै लाग्छ

तिमी मुलधारको मान्छे म मोफसलको मनुवा
तिमीलाई सायद म बिचरो नादान जस्तै लाग्छ

भेलमा पौडिन सिक्यौ तिम्रो कुनै दोष लाग्दैन
निष्कपट मान्छे खै कहाँ, इन्सान जस्तो लाग्छ

के दृष्टि दोष भएछ देखेनौ शकुनी सल्लाहकार
ढुंगा उचाल्नेहरु किन पहलवान जस्तो लाग्छ

घिउ बेच्ने र तरवार बेच्नेको कथा जस्तै त हो,
प्रष्ट बुझिएको छ कुर्सी, तानातान जस्तै लाग्छ