बिपी सङ्ग्रहालयमा काँग्रेस सभापति देउवाद्वार किसुनजीको सालिक अनावरण

काठमाडौं । विसं २०१७ पुस १ गतेको शाही कदमपछि सुन्दरीजल बन्दीगृहमा थुनामा राखिएका सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अनावरण गरिएको छ । किसुनजीको ९५ औँ जन्मजयन्तीका अवसरमा शनिबार सङ्ग्रहालय समितिले आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईको सालिक अनावरण गरेका हुन् । सालिक अनावरणका क्रममा सभापति देउवाले पार्टीलाई पहिलेकै अवस्था पु¥याउने प्रतिबद्धता जनाए ।

‘बिपीलगायत नेतालाई १० वर्षभन्दा बढी समय थुनिएको स्थानमा आएर बोलेका कुरा कार्यान्वयन गर्छु, पार्टीका आन्तरिक समस्या समाधान गरी सबैलाई सम्मानको वातावरण बनाउँछु’, सभापति देउवाले भने । महासमिति बैठकमा आएका नेताले जिल्ला फर्कंदा पार्टी एक भएको सन्देश लिएर फर्कने पनि देउवाले बताए ।

कार्यक्रममा पूर्वमन्त्री एवं पार्टी केन्द्रीय सदस्य अम्बिका बस्नेत, पूर्वमन्त्री आइबी गुरुङ, तारिणदत्त चटौत, पूर्व सांसद नवराज गुरुङ, पुरुषोत्तम बस्नेत र अर्जुन खड्का, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, सङ्ग्रहालय समितिका अध्यक्ष पर्शुराम पोखरेललगायतका वक्ताले नेपाली राजनीतिमा सन्त नेता भट्टराईले पु¥याएको योगदानको चर्चा गरे ।
बन्दीगृह बिपी सङ्ग्रहालयमा परिणत भएपछि हालसम्म छ जना नेताको सालिक अनावरण गरिएको हो ।

बिपी, गणेशमान र किसुनजीको पूर्णकद, नेता रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनको अर्धकदको सालिक अनावरण भएको हो ।