० धर्मानन्द भट्ट
दिलमा आगो र आँखामा पानी राखेर
गोजीमा तस्वीर राखेर, राहदानी राखेर
आफ्ना लागि सातो सामल बोकेको छु,
जरुरी हुन्छ सफरमा, भन्ने जानी राखेर
हरेक मान्छे खुसी खोजेर हिड्दो रहेछ,
धरौटी सपना र बन्दकी, जवानी राखेर
काग र बकुल्ला आफै छुट्टिएको होइन,
बनाएन फरक भनी छानी, छानी राखेर
हामीले भनेको त मीठो लागेन उतिखेर,
आखिर बदनाम भयौ उस्तै, बानी राखेर
मन्थन गर्ने पनि तरिका हुन्छ होला तर,
के गर्न खोज्छौ दिमागमा, मदानी राखेर
त्यहीँ दिनदेखि बाँच्न थाले सम्हालिएर,
जब छुट्टिए दिलमा चोट, निसानी राखेर
यसरी त हार्नेछौ पटक पटक बुझिराख,
खेली राखेछौ एक्का माथि, रानी राखेर।