सिसी क्यामराबाट उपत्यकाको निगरानी

काठमाडौं । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरेर काठमाडौँ उपत्यकामा निगरानी बढाउने भएको छ । त्यसका लागि प्रहरीले थप सिसी टिभी क्यामरा जडान गर्न लागेको हो ।

योजनाअनुसार सिसी क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौँले संवेदनशील क्षेत्रको पहिचान गर्ने थालेको छ । स्थान पहिचानलगत्तै आन्तरिक स्रोतबाट ठेक्का आह्वान गरी पहिलो चरणमा ७५ स्थानमा सिसी क्यामरा जडान गर्ने तयारी गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । क्यामरा जडानमा स्थानीय तहलेसमेत उच्च प्राथमिकता दिँदै आएका छन् ।

केही महीनाअघि गृहमन्त्री रामबहादुर थापाकै उपस्थितिमा प्रहरी उच्च अधिकारीसँग भएको छलफलमा समेत उपत्यकाको स्थानीय तहका प्रमुखले सिसी क्यामरा जडानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । त्यसका लागि आवश्यक खर्चको जोहो गर्न तयार रहेको प्रतिबद्धता जाहेर गरेका थिए । काम तीव्ररुपमा अघि बढेको प्रहरीको भनाइ छ ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँले तीनै जिल्लाका संवेदनशील क्षेत्र पहिचान गरेर कति सिसी टिभी क्यामरा चाहिने हो त्यसको विवरण पठाउन महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरमा पत्राचारसमेत गरिसकेको छ ।

विवरण आएपछि प्राथमिकताका आधारमा क्यामरा जडान हुने कार्यालयका प्रवक्ता पूजा सिंहले जानकारी दिए । हाल काठमाडौँ उपत्यकामा ४६० को हाराहारीमा क्यामरा प्रयोग भइरहेको छ । काठमाडौँमा मात्रै ४०२ क्यामरा प्रयोगमा छ । भक्तपुरमा ३४ र ललितपुरमा २४ क्यामरा प्रयोगमा छन् ।