आफ्नै पार्टीका प्रधानमन्त्रीको कदमविरुद्ध नेकपाः कांग्रेस र जसपासँग मिलेर संघर्षमा उत्रने

काठमाडौं । सत्तासिन दल नेकपा आफ्नै पार्टीका प्रधानमन्त्री केपी ओलीले चालेको कदम विरुद्ध संघर्षमा उत्रने भएको छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) र सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुबीच प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध संघर्ष गर्ने सहमति भएको हो।

कांग्रेस संसदीय दलको कार्यालयमा आइतबार बेलुकी भएको छलफलमा तीन दलका शीर्ष नेताहरुबीच प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध संघर्ष गर्ने सहमति भएको छ।

छलफलमा सहभागी जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले तीन दलबीच ओलीको संसद् विघटन गर्ने कदमविरुद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी बनेको जानकारी दिए।

उनले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश रहेको ठहर तीन दलले गरेको बताए।

डा भट्टराईका अनुसार कांग्रेस र जसपाले छलफलमा सहभागी नेकपाका शीर्ष नेताहरुलाई वर्तमान सरकार कुन पार्टीको हो भन्ने बारेमा छिटो स्पष्ट गर्न पनि भनेका छन्।

ुजसपा, नेका र नेकपाका शीर्ष नेताहरू नेका संसदीय दलको अफिसमा बसियो। प्रम केपी ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक–अलोकतान्त्रिक–निरंकुश रहेको ठहर गरियो। यसकाविरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी भयो। यो सरकार अब कुन पार्टीको हो नेकपाले छिटो स्पष्ट गरोस् भन्ने प्रश्न पनि गरियो,ु तीन दलको छलफलपछि डा.भट्टराईले ट्विट गर्दै लेखेका छन्।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँण, डा मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए।

जसपाका तर्फबाट डा भट्टराई र नेता राजेन्द्र महतो तथा नेकपाका तर्फबाट वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी थिए।