फेरिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रुप

काठमाडौं । जहाजबाट ओर्लेपछि आगमनतर्फ लम्किँदै गर्दा टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ । त्यसको ठीक पछाडी गरुडले नमस्ते गरेको मूर्ति देख्न सकिन्छ । सँगै चारवटा गाग्राको घडा राखेर सजाइएको छ । सन् २०२० को नेपाल भ्रमण वर्ष चिनाउनका लागि बनाइएको ‘सेल्फी प्वाइन्ट’ जुन विदेशी पाहुना (पर्यटक) का लागि सेल्फी फोटो खिच्ने ‘सेल्फी जोन’ बनेको छ ।

भित्रपट्टि छिर्नासाथ ताउलोमा सजिएका फूल, पुरातात्विक महत्वका सम्पदा, मठ, मन्दिर आदि झल्कने विविध तस्बिरले पाहुनालाई मोहित तुल्याउँछ । अगाडि बढ्दै गर्दा विदेशीले पुनः सोध्छन्, ‘ह्वाइ दीस अगेन’ (फेरि यो किन) ? नेपालीको जवाफ हुन्छ, ‘इट इज आवर कल्चर’ (यो हाम्रो संस्कृति हो) । पर्यटक आगमन कक्षमा सजिएकी जीवित देवी कुमारीको आकर्षक मूर्तिले पाहुनाको ध्यान खिच्छ अनि त सेल्फी खिच्न भ्याइहाल्छन् । ‘कुइरे’ पाहुना अच्चममा पर्छ अनि उत्साहित हुँदै अनगिन्ती प्रश्न सोध्न थाल्छ । सुन्दा कथा झैँ लाग्ने यो मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) को बदलिँदो स्वरूपको यथार्थ चित्रण हो ।

पछिल्लो समय विमानस्थलको रूप फेरिएको छ । यहाँबाट बाहिरिने र भित्रिने दुवैखाले यात्रुले अब केही फरक अनुभूति गर्नेछन् । किनकि विमानस्थलको भित्री रूप लोभलाग्दो गरी सुधारिएको छ । बाहिर पनि आकर्षक ढङ्गले सजाइँदैछ ।

‘मर्निङ सोज द डे’ (बिहानीले दिनको सङ्केत गर्छ( भनेझैँ विमानस्थलको फेरिँदो रूपले भविष्यमा आकर्षक ‘बुटिक एयरपोर्ट’ (बुटिक विमानस्थल) को रूपमा स्थापित हुने देखिन्छ । त्यस अनुरूपको योजना कार्यक्रम पनि बनिरहेको सरकारी अधिकारी बताउँछन् । हालै एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थललाई बुटिक विमानस्थल बनाउने बताएका थिए ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिने र पहिलो प्रभाव नै विमानस्थलबाट पर्ने भएकाले विमानस्थलको रूप बदल्न लागि परेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । हालकै संरचनालाई नेपालीपन झल्काउने गरी ‘बुटिक एयरपोर्ट’ बनाउने सोच अनुरूप काम भइरहेको उनले बताए । यसबाहेक नेपालको स्वागत परम्परा, बढी प्रयोग हुने तस्बिर र काष्ठकलाको प्रयोग गरेर बुटिक विमानस्थलको रूप दिने प्रयास भइरहेको छ। “ससाना कुरालाई सुधार गरेर विमानस्थलको स्तर र रूप फेर्न सकिन्छ भन्ने उदाहरण अहिलेको सुधारले देखाएको छ”, उनले भने ।

विमानस्थलको आगमन कक्षमा मुख्य चाडपर्व र समय अनुसारका संस्कृति झल्कने विविध सामग्री सजाइने गरिएको छ । भुइँमा कार्पेट बिछ्याइएको छ भने छेउछेउमा नेपाललाई चिनाउने दृश्यहरूका साथ घडा भरिएका कलश राखिएका छन् । कुनैबेला विरक्त लाग्ने विमानस्थलको फेरिदो रूपले अन्तर्राष्ट्रिय जगतको ध्यान खिच्न थालेको छ ।

आगमनबाट बाहिरिने बित्तिकै १० वटा हरियो र १० वटा कालो प्लेट नम्बरका ट्याक्सी लस्करै देख्छिन् । यात्रुलाई चढ्न मन लागे चढ्छन् नत्र आफ्नै व्यवस्थाले गन्तव्य पुग्छन् । विमानस्थलबाट अलि तल आउँदा व्यवस्थित पार्किङमा भरिभराउ सवारी साधन प्रतिक्षामा छन् । इच्छाअनुसार गन्तव्य पुग्न सकिन्छ ।

पहिलेजस्तै ट्याक्सी चालकको तँछाडमछाड, आगमन र प्रस्थान कक्षमा अत्यधिक भिडभाड, फोहोर शौचालय, बस्न नपाएर भुइँमै पल्टिएका यात्रुहरूको अवस्था अहिले दुर्लभ जस्तै बनेको छ । विमानस्थल पुग्ने जो कोहीले पनि झण्डै डेढ महिनाको अवधिमा विमानस्थलको रूप फेरिएको अनुभूति गर्नेछन् । अनि भन्नेछन्, ‘वाह ! फेरिएछ अन्तर्राष्ट्रिय विमानस्थल ।’

रासस