काठमाडौंमा मैयाँमाथि चर्चा

काठमाडौं । नेपाली साहित्य लेखन अझै परम्पराबादमै हिंडिरहेको केही समीक्षकहरुले बताएका छन् । मैयाँ कथा संग्रहमाथि चर्चा कार्यक्रममा समालोचक राजकुमार बानियाँले अधिकांश नयाँ पुस्ताले पनि पुरानै लेखन र शैलीलाई अनुसरण गरेको दाबी गरे । उनले भने, ‘प्रकाशकले पनि यस्तै कथाबस्तुलाई बजारको माग मान्ने गरेका छन् ।’

सर्वनाम थिएटरमा शनिबार आयोजित कार्यक्रममा बाबू त्रिपाठीले मैयाँका सन्दर्भमा रहेर राजकुमार बानियाँ, हरिमाया भेटवाल, बिबेक ओझा र कथाकार निर्दोष जीवनसँग संवाद गरे । हरिमाया भेटवालले समयानुकूल लेखकले पाठकको रुचि हेरेर लेख्नुपर्ने बेला आएको बताइन् । साहित्य बजारमा अहिले लेखक र प्रकाशक उत्तिकै संख्यामा रहेका र पाठकले भने फरक स्वाद खोजिरहेको बिबेक ओझाले तर्क राखे ।

लेखक निर्दोष जीवनले आफुले देखे भोगेका सामाजिक कुरालाई कथा बनाएर मैयाँमा समेटेको बताए । मैयाँमा उन्नाइसवटा कथा छन् । चितवन घर भएका निर्दोष जीवन यहीँको साहित्यिक गतिविधिमा सक्रिय छन् । कथा सँगसँगै गजल लेखन र गायनमा पनि उनको क्रियाशीलता छ । २५० रुपैयाँ मूल्य राखिएको किताब युरेका पब्लिकेसन्सले छापेको हो ।