कांग्रेसले हिन्दूराष्ट्रको एजेण्डा बोकेको छैन, धार्मिक स्वतन्त्रताको पक्षमा छ : एनपी साउद

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एन पी साउदले काँग्रेसले हिन्दूराष्ट्रको मुद्दा नबोकेको बताएका छन् । उनले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै भने, ‘धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता बनाउने बहस पार्टीभित्र चलेको हो ।’

साउदले हालै सम्पन्न पार्टीको महासमिति बैठक ऐतिहासिक भएको र यसले देशैभरि एकताको सन्देश दिएको पनि बताए । महासमिति बैठकमा धर्मनिरपेक्षताबारे गम्भिर प्रश्न उठेको पनि उनले बताए । राजधानीमा आयोजित एक साक्षात्कारमा उनले भने, ‘आधाभन्दा बढि सदस्यहरुले यसबारे प्रश्न उठाउनुभएको छ ।’

सरकार एशिया प्यासिफिक समिटमा सहभागी भएको कुरा उल्लेख गर्दै उनले राज्य आँफै नयाँ–नयाँ धर्मको प्रचारमा लागिपरेको आरोप लगाए । साउदले भने, ‘कोरियाका विवादित व्यक्तिलाई बोलाएर सरकार आँफै कार्यक्रममा सहभागी भएकोबारे पार्टीभित्र समिक्षा भएको छ । कांग्रेसले सरकारको यो कदमलाई भत्र्सनायोग्य र गम्भिर कदमको संज्ञा दिएको छ ।’
पछिल्लो समय धर्मनिरपेक्षताको विषयमा लगातार बहस चलेको पनि उनले टिप्पणी गरे ।

साउदले महासमितिका धेरै साथीहरुले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भनेर आवाज उठाएको उनले बताए । यसप्रति पार्टीभित्र छलफल हुने कुरा पनि उनले बताए । भने, ‘सरकार धर्मनिरपेक्षताको आचरणमा धर्म रुपान्तरणमा सामेली भएको छ । यो जघन्य कुरा हो ।’ पछिल्लो समय नेपालमा धार्मिक अहिष्णुताको जोखिम बढेकोपनि उनले औंल्याए ।

फरक प्रसँगमा उनले वर्तमान सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको दावी गरे । ‘सुशासनको ठाउँमा कुशासन दिएको छ । होलीवाईन पिउने/पिलाउने काम गरेको छ । वाईडबडी जहाज प्रकरण हेर्नुहोस् । नेकपाभित्रै अहिले घम्साघम्सी चलिरहेको छ,’ साउदले भने ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १५० दिन बितिसक्दा पनि अहिलेसम्म बास्तविक अपराधी पत्ता लगाउन नसकेकोमा साउदले सरकारप्रति आक्रोश पोखे । उनले भने, ‘एउटी अबोध बालिकाको यसरी निर्मम तरिकाले हत्या भएको छ । तर, सरकारले घट्नाको अनुशन्धानबारे पटक पटक लापरवाही गरिरहेको छ । नक्कली मान्छे खडा गरेको छ । वास्तविक अपराधी पत्ता लगाउन सकेको छैन् ।’ उनले कांग्रेसले अब संसद र सडक दुवै ठाउँमा संघर्ष गर्ने जनाए ।