‘एउटा यस्तो प्रेम कहानी’को टाइटल गीत सार्वजनिक

काठमाडौं । अग्रज अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्रको पोस्टर तथा शीर्ष गीत सार्वजनिक भएको छ।

चलचित्रका निर्माता, कलाकार, निर्देशक, गीतकार, संगीतकार, छाँयाकार, चलचित्र समीक्षक, पत्रकार र वितरकको उपस्थितिमा पोस्टर र गीत सार्वजनिक भएको हो।

कार्यक्रममा चलचित्रका निर्माता, निर्देशक र कलाकारहरुले पोस्टर सार्वजनिक गरेका थिए।

कार्यक्रममा फिल्मको शीर्ष गीत ‘म तिम्रो आँखाबाट यो संसार देख्न चाहन्छु, म एउटा यस्तो प्रेम कहानी लेख्न चाहन्छु’ सार्वजनिक गरिएको थियो। गीतलाई विश्व नेपाली र अस्मिता परियारले स्वर दिएका छन भने यसमा संगीत वसन्त सापकोटाको छ।

कार्यक्रममा अभिनेता श्रेष्ठले विश्वभर महामारीको रुपमा आएको कोरोनाका कारण नेपालको चलचित्र उद्योगले भोगेको समस्यालाई दृष्टिगत गरी चलचित्रको छायांकन र प्रदर्शन खुलाउन चलचित्रकर्मीहरुले ठूलो प्रयास गर्नुपरेको बताए।

उनले महामारीको बेला चलचित्र प्रदर्शन गरेर मनोरञ्जनको भ्याक्सिन दिन पाउँदा आफूलाई निकै सन्तोष लागेको बताए।

आफू ४० बर्ष पहिलेदेखि यस क्षेत्रमा लागेको स्मरण गर्दै उनले एउटा यस्तो प्रेम कहानी राम्रो फिल्म बनेको जिकिर गरे।

कार्यक्रमलाई संबोधन गर्दै निर्माता यशोदा राईले अभिनेता शिव श्रेष्ठले आफैले एक वर्ष लगाएर यसको कथा तयार पारेको बताइन्।

चलचित्रमा श्रेष्ठ, नायिका प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धारा भुसाल, आङतेम्वा शेर्पा, मिथिला शर्मा, विष्णु चेम्जोङ, रेखा फागो, नरेन खड्का, ध्रुब कोइराला, प्रभु श्रेष्ठ, नवराज विश्वकर्मा लगायतको अभिनय छ।

यसै चलचित्रबाट शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ, करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र निर्माता दिनेश दर्शनधारीका छोरा सम्यक दर्शनधारीले डेब्यु गरेका छन्।