थारू समुदायमा बढ्यो माघीको रौनक

दाङ । थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल सुरु भएको छ।

थारू समुदायको नयाँ वर्षको स्वागतका लागि अन्तिम तयारीमा जुटेका छन्। रोजगारीका सिलसिलामा घर बाहिर भएकाहरु घर फर्किएकाले गाउँघरको वातावरण नै रमाइलो भएको छ।

माघलाई विभिन्न ठाउँका थारू समुदायले आ–आफ्नो परम्पराअनुसार माघी, माघ, खिचरा, तिला संकराइत नामले मनाउँदै आएको पाइन्छ। केही वर्ष पहिले थारू समुदायका अधिकांश छोरीहरु कमलरी थिए। उनीहरु माघीका दिनमात्रै छुट्टी पाउँथे त्यसैले यसलाई मुक्ति दिवसका रुपमा पनि मनाइन्छ।

माघको तयारीमा ढिक्री, रोटी, जाँड पकाउने काम शुरु भएको घोराही ७ वेसाहीका अनुपमा चौधरी बताउँछन्। उनका अनुसार थारु समुदायको घरघरमा ढिक्री, रोटी, माछा र घोङीको परिकार बनाइँदैछ।’ माघीको सम्पूर्ण तयारी पूरा भएको छ।

यसपालि कोरोनाका कारण नाचगानको कार्यक्रम भने छैन तर खानाको परिकार बनाउन भ्याइनभ्याइ छ। कामको सिलसिलामा घरदेखि टाढा भएका दाजुभाइ, दिदीबहिनी घरमा आउनेको सङ्ख्या बढेको छ।

गाउँमा छुट्टै चहलपहल र भेटघाट भएकाले रमाइलो छ। वेसाही गाउँ थारू समुदायको बाक्लो वस्ती भएको ठाउँ हो, घरको काम छिटो सकेर आरामले माघ मान्ने तयारीमा गाउँघरका आमाबुवा, दाजुभाइ, दिदीबहिनी जुटेका छन्।

थारू समुदायले माघमै आफ्नो मुखिया चुन्ने, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेषरूपमा लिइँदै आएको थारू अगुवा पूर्ण चौधरी बताउँछन्।

उनी भन्छन्, ‘पुसको २५ देखि माघको ५ गतेसम्म मघौटा नाच हुने गर्दथ्यो।’ सधैँ काममा व्यस्त रहने थारू समुदाय माघको समयमा फुुसर्दिला हुने र खानपिन गरेर आफ्ना साथीसङ्गीसँग रमाइलो गर्ने गर्दछन्। अन्नपात भित्र्याएर भकारीभरि धान राखेर आनन्दसँग माघ मनाउने गरेको चौधरी बताउछन्।

थारू कल्याणकारी सभा दाङका सभापति भुवन चौधरीले थारूहरुको महान् पर्वलाई मानिसले माघी भन्ने गरे पनि वास्तवमा यो पर्व (माघ) भएको बताए।