सत्तारुढ दलकै दबाबमा राजीनामा दिए झाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दबाबमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले राजीनामा दिएका छन् । आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई झाले राजीनामा बुझाएका हुन् ।

झाले नेकपाबाटै राजीनामा माग भएकाले नैतिकताका आधारमा राजीनामा दिएको बताएको सरकारी सञ्चार माध्यम राससले उल्लेख गरेको छ । झालाई अध्यक्ष पदबाट हटाउन नेकपाभित्रबाट सरकारलाई दबाब थियो ।

‘मेरो कारणले प्रधानमन्त्री र सञ्चारमन्त्रीमाथि टीकाटिप्पणी भयो’, उनले भने, ‘मेरो चरित्रमाथि नै आँच आउने काम हुन थालेपछि नैतिकताको सम्मान गर्दै राजीनामा दिएको हुँ ।’

झा विसं २०६९ मा पहिलोपटक, २०७४ मङ्सिरमा दोस्रोपटक म्याद थपिएको थियो । उनलाई पुनः गत भदौ २१ गते मन्त्रिपरिषद्को निर्णयले चार वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको थियो ।