पत्रकारलाई सामाजिक सञ्जाल चलाउन पनि आचारसंहिता !

दमौली । पत्रकार समाजको विवेशशील प्राणी हो । पत्रकारिता विवेकशीलहरुको क्षेत्र मानिन्छ । नेपाल पत्रकार महासङ्घले पत्रकारलाई सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकारले अपनाउनुपर्ने आचारसंहिता निर्माण गर्ने भएको छ । आचारसंहिता बनाउन लागेको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताएका छन् ।

प्रेस काउन्सिल नेपालको आयोजना र महासङ्घ तनहुँको संयोजनमा बिहीबार दमौलीमा आयोजित तनहुँका सञ्चारमाध्यमका समस्या र पत्रकार आचारसंहिता विषयक मिडिया संवादमा बोल्दै आचार्यले आचारसंहिता बनाउन लागेको बताए । उनले पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड पनि दिए ।

पत्रकारले सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका सामग्री प्रकाशन÷प्रशारण गरेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न आचारसंहिता बनाउन आवश्यक रहेको उनको जिकिर थियो । “आचारसंहिता बनाउन महासङ्घका पूर्वअध्यक्ष र विज्ञलाई मस्यौदा दिने तयारीमा छौँ, आगामी साधारणसभासम्म यसको टुङ्गो लाग्छ,” उनले भने ।

उनले पत्रकारिता क्षेत्र समाजको मार्गदर्शन भएकाले पत्रकार बढी जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे । पत्रकारले प्रकाशन÷प्रशारण गर्ने सामग्री आचारसंहिताबमोजिम हुनुपर्ने र त्यसो नभए आचारसंहिता उल्लङ्घनमा कारवाही हुने समेत उनको उदघोष थियो । उनले पत्रकारिता पेशामा क्रियाशील नरहेका महासङ्घका सदस्यलाई बिदाइ गर्ने निर्णय भएको पनि जानकारी गराए ।

मिडिया दर्ता, वर्गीकरण स्थानीय तहबाट हुनुपर्ने महासङ्घको धारणा रहेको चर्चा गर्दै उनले सङ्घीयताको अनुभव सञ्चारमाध्यममा समेत हुनुपर्नेमा जोड दिए । प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीले पत्रकारले आचारसंहिताको परिधिभित्र रहेर सामग्री प्रकाशन÷प्रशारण गर्नुपर्ने बताए ।