दुई गजल

० धर्मानन्द भट्ट
स्वागत छ नि तिमी यतै आउने भए
किन पो नाइ भन्नू माया लाउने भए।

यो कस्तो अचम्मको लोकतन्त्र रहेछ,
चुनाव हारेकाहरू सत्ता चलाउने भए।

लम्पटहरू खाली स्वार्थ मात्रै खोज्ने
जागिर छैन कोलाहल मच्चाउने भए।

मिल्ने र छुट्टिने अंक गणित थाहा छ,
तिमीहरू उफ्रिन्छौ पद नपाउने भए।

कस्ता नेता जन्मिएछन यो नेपालमा,
जता पद र पैसा त्यतैतिर धाउने भए।

राजनीति सम्पत्ति बटुल्ने अड्डा होइन,
ठेक्का पट्ठा गर्नुस पैसा कमाउने भए।

             ०००

विकट बस्तीलाई सहर कसरी भन्न सक्छौ
यो नदी हो, तिमी नहर कसरी भन्न सक्छौ।

तिम्रो बिर्ता हो र नेपाल जहिले दाबी गर्छौ,
ढुकुटी रित्याउ र भर घर कसरी भन्न सक्छौ।

कहिले दिएको अधिकार सम्हाल्न नसक्ने,
नेपाली जनता लड, मर कसरी भन्न सक्छौ।

आफ्ना स्वार्थका खातिर जनता झुक्याएर,
यहीँ हो मुक्तिको सफर कसरी भन्न सक्छौ।

उनको पनि अधिकार कुण्ठित हुन सक्छ,
भक्तहरूले भक्ति, नगर कसरी भन्न सक्छौ।