चौथो फारवेष्ट पशुपति कप : पिएफए र आयोजक फारवेष्ट अन्तिम चारमा

धनगढी । सात लाख धनराशीको फारवेष्ट पशुपति कपको चौथो संस्करणको सेमिफाईनल समीकरण पुरा भएको छ ।

बिहीबार धनगढी रंगशालामा भएका दुई खेलको नतिजापछि सेमिफाईनल समिकरण पुरा भएको हो । आज भएका खेलमा जित हात पार्दै पिएफए अत्तरिया र आयोजक फारवेष्ट पशुपति युवा क्लब अन्तिम चारमा पुगेका छन् ।

बिहीबार भएको पहिलो खेलमा पिएफए अत्तरियाले मनकामना युवा क्लब जुगेडालाई १–० ले किनारा लगायो । पहिलो हाफको १२ औं मिनेटमा पिएफएका लागि आशिष श्रेष्ठले निर्णायक गोल गरे । खेलमा मनकामनाका अन्जन थापा म्यान अफ द म्याच भए ।

बिहीबार भएको दोस्रो खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबले नबोबुद्ध युवा क्लबमाथि ३–२ को रोमाञ्चक जित दर्ता ग¥यो । दुई पटक लिएको अग्रता जोगाउन नसक्दा नबोबुद्ध पराजित भएको हो ।

पहिलो हाफको २२ औं मिनेटमा नवो बुद्धका लागि सन्तोष थापाले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । फारवेष्टका लागि पहिलो हाफको ३२ औं मिनेटमा कुँवेर सिंहले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ एक एकको बराबरी भएको अवस्थामा दोस्रो हाफको २ मिनेटमै जनक बलमे गोल गर्दै नवो बुद्धलाई फेरि २–१ को स्थितिमा पुर्याए ।

दोस्रो हाफको १२ औं मिनेटमा फारवेष्टका लागि चेतन कठायतले गोल गर्दै फेरि खेल बराबरीमा ल्याए । दोस्रो हाफकै २८ औं मिनेटमा महेश चन्दले गोल गर्दै फारवेष्टलाई सेमिफाइनलसम्म पुर्याए । म्यान अफ द म्याच भने नवोबुद्धका गोल रक्षक अभी विसी भए ।

यसअघि नै सहारा युवा क्लब पहमानपुर र सुदूरपश्चिम–११ सेमिफाईनल पुगिसकेका छन् । सहाराले गौरीगंगा–११ स्पोर्टसलाई ६–० को फराकिलो अन्तरले हराएको हो भने सुदूरपश्चिम–११ स्पोर्टस क्लबले नवदुर्गा युवा क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारमा पुगेका थिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार दुवै सेमिफाईनलका खेल हुनेछन् । पहिलो सेमिफाईनलमा पिएफए अत्तरिया र सुदूरपश्चिम–११ प्रतिस्पर्धा गर्नेछन् । दोस्रो सेमिफाईनलमा सहारा युवा क्लब पहलमानपुर र आयोजक फारवेष्ट पशुपति युवा क्लब प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले नगद चार लाख र उपविजेताले नगद दुई लाख पाउनेछन् । उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने छन् । प्रतियोगिता धनगढी रंगशालामा पुस १४ गतेसम्म सञ्चालन हुने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले जानकारी दिए ।