काँग्रेसमा गुट उपगुट सकियो : शशांक, कम्युष्टि नेताको चारतिर मुख छन् : एनपी साउद

कञ्चनपुर ।  काँग्रेस महामन्त्री शशांक कोइरालाले अब पार्टीमा गुट उपगुटको राजनीति सकिएको उद्घोष गरेका छन् । शुक्रबार कञ्चनपुरको क्षेत्र नम्बर १ मा आयोजित क्षेतिय भेलामा सम्बोधन गर्दै कोइरालाले पार्टीको महासमितिले पार्टी एक भएर अघि बढ्ने संकल्प गरिसकेकाले अब पार्टीको व्यापकता र जनताको पक्षमा काँग्रेस लाग्ने बताए ।

कार्यक्रममा सम्बोधन गर्दै पूर्वमन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले ०३४ सालमा वीरेन्द्रशिल्ड आयोजना हुँदा क्षेत्र नम्बर १ को यो स्थानमा आउँदा र आज निकै परिवर्तन भएको स्मरण गरे ।  ४० वर्षमा पुस्ता बदलिएजस्तै यो ठाउँमा बाटोघाटो, पुल, स्वास्थ्य, अस्पताल, शिक्षालय खुलेको बताए । केन्द्रीय सदस्य साउदले काँग्रेसले एकमना किसिमले मुलुकको साशसन चलाउन नपाएकाले सोचेजति विकास गर्न नसकेको पनि बताए ।

‘गिरिजाप्रसाद कोइरालाको पालामा साढेतीन वर्ष एकमना किसिमले साशन चलाउन पाउँदा मुलुकको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत पुगेको थियो’, साउदले भने, ‘त्यो भन्दा ज्यादा आर्थिक वृद्धिदर आजसम्म पनि पुग्न सकेको छैन ।’

कञ्चनपुरको तल्लो भेगलाई माथिल्लो भेगसँग जोडने कामदेखि धनगढीसँग जोडने काम काँग्रेसकै नेतृत्वमा भएको स्मरण गर्दै नेता साउदले भने, ‘डोकेबजारदेखि दैजीसम्म पुग्ने हुलाकी सडक बनिराखेको छ । महाकाली सिचाइ आयोजना बन्दै छ। बेलडाँडी सडक पिच हुँदैछ । यहाँ एनपी साउँद प्रतिनिधि हुँदा केही न केही विकासको चिनो छ, बासुदेव भट्ट प्रतिनिधि हुँदा केही न केही विकासको चिनो छ, दिवानसिंह विष्ट जनप्रतिनिधि हुँदा पनि विकासको चिनो छ । तर माओवादी, एमालेले यहाँ दुईपटक जिते तर कुनै विकासको चिनो छ भने खुलामञ्चमा आएर भनुन् ।’

उनले नेपाली काँग्रेस पार्टी महासमिति बैठकको सफलता र सन्देशपछि  मेचीमहाकाली जागरण अभियानमा जुटेको बताए ।  ‘पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको नेतृत्वमा हाम्रो अभियान देशभरी चल्ने छ’, नेता साउँदले भने ।

नेकपालाई भोट दिँदा दुईवटा नारालाई जनताले भोट दिएको उनले स्मरण गराए । एउटा स्थिरता र अर्को समृद्धिको नारामा जनताले भोट दिएको भन्दै साउदले भने, ‘तर तपाईहरुले देखिरहनु भएको छ, प्रचण्डको एकातिर मुख छ, केपी ओलीको अर्कोतिर मुख छ, झलनाथको एकातिर मुख छ, माधव नेपालको अर्कोतिर मुख छ । नेकपाका प्रवक्ताले त यो पार्टी, यो सरकार पाँच वर्षसम्म एक भएर चल्छ भन्ने कुनै ज्ञारेन्टी छैन भन्न थालेका छन् । यस्तो सरकारले समृद्धि र स्थिरता दिने कुनै ज्ञारेन्टी छैन ।’

उनले नेकपाको दुईतिहाई सरकार हुँदा शेयर मार्केट ओरालो लागेको,  किसान मार्कामा परेको,  मजदुरको बारेमा बोलिनसक्नु अवस्था भएको बताए ।

नेता साउदले वाइडबडी खरिद गर्दा नक्कली कम्पनी बनाएर पुरानो जहाज किनिएको आरोप लगाए । उनले सुदूरपश्चिमको राजधानी तोक्ने विषयमा आक्रोस पोखे । ‘अत्तरियाका केही जग्गा दलालको जग्गाको भाउ बढाउन चुरेको फेदीमा सुदूरपश्चिमको राजधानी बनाउने धृष्टता गरिएको छ’, साउदले भने, ‘हामी चुप लागेर बस्दैनौ, आन्दोलनको बिगुल फुक्नेछौँ । अबोध बालिका निर्मला पन्ताको बलात्कारपछि हत्या भएको आज डेडसय दिन भएको छ । हत्यारा पत्ता लगाउनुको सट्टा प्रधानमन्त्री नै हत्यारा पत्ता लाग्न त १२ वर्ष पनि लाग्नसक्छ भनेर गैह्र्रजिम्मेवार भषा बोलिरहेका छन् ।’