म (कविता)

० लीला अनमोल

हेक्का छैन मलाई
मेरो जीवनको बाटो
कत्तिखेर बिर्सिए मैले,
मेरो ओठको एक घाम खुशी
फुस्किएर गयो कत्तिबेला म बाट?
तिम्रो सपनाको कारिन्दा भएर
कहिले देखि हिँडे म?

तिम्रो योजना लेखिएर
कत्तिबेला केरमेट भयो
मेरो जिन्दगिको इतिहास!
परिवर्तन भएर तिम्रो आकांक्षासँग
कतिबेला साटियो मेरो सौन्दर्य
र कत्तिबेला टाँस्यौ मेरो छतीको भित्तामा
तिम्रो अधिकारको साइनबोर्ड?

कुन सागरमा मिसियो
मेरो प्रगतिको हिमाल पग्लिएर!
कहाँ बग्यो मेरो उत्साहको सङ्लो नदी?

मेरो आकाशको सितल जून चोरेर तिमीले
कुन बगैंचामा आनन्दीको शुशेली हाल्यौ?
कैंडा लागेर मेरो बर्तमानमा
हिँड्नै नसक्ने बनायौ तिमीले

मरभूमी भएर मेरो मनको फाँट
हरियो उम्रँदैन आजकाल
साच्चै निको हुन नसक्ने भएकोछ
म भित्रको घाऊ!

निश्चित स्वतन्त्रताको घाममा सुकाएर मलाई
तिमीले अलिकति उज्यालो आभास दिलायौ
र, अँध्यारो स्थापित गरेर मभित्र
घृणाको साम्राज्य चलायौ
तर किन सोच्दैनौ तिमी
कि, युगौँदेखि फूल भएर पनि म
काँडाहरूबिछ मुस्कुराइरहेकै छु।

विर्तामोड