मुलुकभर मनायो काङ्ग्रेसले मेलमिलाप दिवस

काठमाडौं । नेपाली काङ्ग्रेसले आज मुलुकभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायतका कार्यक्रम गरी मेलमिलाप दिवस भव्यरुपमा मनाएको छ । पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको दिन पुस १६ लाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्कनुभएका काङ्ग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकमा समेत शीर्ष नेताले ४३ औँ मेलमिलाप दिवस पार्टी सङ्गठन सुदृढीकरणको नयाँ अभियानका साथ मनाउने घोषणा गरे अनुसार आज देशैभर मेलमिलाप दिवश मनाइएको पार्टी प्रवक्ता विश्वप्रकास शर्माले बताए । दिवसका अवसरमा व्यापक र बृहत् कार्यक्रम गरी मनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।

पार्टीको निर्णय अनुसार देशका विभिन्न स्थानमा आज काँग्रेसले कार्यक्रम आयोजना गरेको छ । ४३औँ मेलमिलाप दिवशका अवसरमा काँग्रेसले डडेल्धुराको जोगबुडामा वृहत कार्यक्रम आयोजना गरेको छ । सभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले सम्वोधन गरेका छन् । उनले अव राजनीतिक संघर्षभन्दा विकासको आन्दोलन थाल्नुपर्ने धारणा राखे । मुलुक निर्माणमा सँधै काँग्रेस संवेदनशील भएर लागेकाले अब सिंगो पार्टी र अन्य शक्तिलाई समेटेर एक भएर लाग्नुपर्ने धारणा राखे ।

कन्द्रीय सदस्य साउदले इतिहासकै सबैभन्दा बलियो भनिएको कम्युस्टि सरकारले जनतालाई देखाएको आसा निराशामा परिणत भएको बताए । उनले जनताका लागि समृद्धि ल्याउँछौँ भनेर सत्तामा पुगेको कम्युनिस्ट शक्तिले जनतालाई करको दायरा बढाएर ढाड सेक्ने काम गरेको जिकिर गरे ।

नेता साउदले पार्टीमा भएका कमीकमजारी महासमितिको सफलतासँगै सच्चिन थालेकाले अब पार्टी मजबुत भएर जनताको पक्षमा काम गर्न पनि कार्यकर्तालाई अपिल गरे । उनले लोकतन्त्रको लागि लडेको काँग्रेसले अब मुलुकको समृद्धिका लागि कम्मर कस्नुपर्ने बेला आएको बताए । कार्यक्रममा जिल्ला स्तरका नेताहरुको सहभागिता थियो ।