हाम्रो प्रणय दिवस !

✍️ रामलाल जोशी

मान, प्रिया!
हाम्रो भ्यालेनटाइन, धान दिवस हो
छुपुछुपु रोप्दै तिमीले गाएका माल्सिरी गीतहरुले
लहलह बाला झुलाउन सक्छन्
प्रेमका नाममा भोका बस्नेहरूलाई
एक छाक चौलानी पिलाउन सक्छन।

बुझ, प्रिया!
हाम्रो भ्यालेनटाइन, श्रम दिवस हो
भट्टाको तातो रापमा चुहिएका निला पसिनाहरूले
एकजोर रातो ईट्टामा मैले तिम्रो नाम लेखेको छु।
यिनै ईट्टाहरुको मन्दिरले प्रेमका लागि निर्वासित हुनेहरूलाई
ओत लाग्ने एउटा छाना दिन्छ, अडिने एउटा भित्ता दिन्छ।

सम्झ, प्रिया!
हाम्रो भ्यालेनटाइन, शहीद दिवस हो
जसका ऐठानी सपनाहरूले, तिमी नब्युझिदै
प्रेम गर्नेहरूका पखेटाहरूमा धारिला प्वाँख उमारिदिन्छन
र, उडाइदिन्छन प्रेम गर्नेहरूलाई स्वतन्त्र आकाशमा।

मेरी प्रिया!
यस दिन फेसबुकका भित्ताहरुमा नपठाऊ राता गुलाफहरू
जुन दिन म नरहुँला या तिमी नरहुली
त्यस दिन यादहरू लेख्नलाई चाहिन्छन गुलाफका पत्ताहरू
सम्झनाहरू कोर्नलाई चाहिन्छन गुलाफका पातहरू।

सम्झिनलाई ‘भ्यालेनटाइन डे’ चाहिन्छ– यो झुटो कुरा हो
उपहार दिनलाई गुलाफ चाहिन्छ– यो केवल बकबास हो।
सम्झिनलाई छुट्टै दिन कहाँ चाहिन्छ र?
तिमी सुख दुःखका सुस्केराहरूमा मलाई सम्झिन सक्छौ
म श्रमका पसिनाहरूमा तिमीलाई सम्झिन सक्छ।

तिमी शब्दहरूमा मलाई भेट्टाउन सक्छौ
म अक्षरहरूमा तिमीलाई कोर्न सक्छु।
बादलको गुच्छामा तिमी सास पठाउन सक्छौ
हावाको झोक्कामा म याद पठाउन सक्छु।

मेरी प्रिया!
मायाका लागि छुट्टै कुनै दिन कहाँ चाहिन्छ र?
धान दिवस– हाम्रो प्रणय दिवस हो।
श्रम दिवस–हाम्रो प्रणय दिवस हो।
शहीद दिवस–हाम्रो प्रणय दिवस हो।

(कवि मदन पुरस्कार विजेता साहित्यकार हुन्)