ग्राहको सुविधाका लागि मेगा बैंकमा कस्टमर केयर अफिसर

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले राजधानीका आठवटा शाखामा ‘कस्टमर केयर अफिसर’को व्यवस्था गरेको छ । ग्राहकहरुका लागि विशेष सुविधा प्रदान गर्न अफिसर नियुक्त गरेको हो ।

बैंकमा सेवा लिन आउने ग्राहकहरुको सहजताका लागि बैंकले नयाँ वर्ष सन २०१९ को सुरुवातसँगै मंगलबारबाट ‘कस्टमर केयर अफिसर’ नियुक्त गरेको हो । उनीहरुलाई ग्राहकहरुको बैंकिङ्ग आवश्यक्तालाई हेरविचार गर्ने विशेष जिम्मेवारी दिइएको छ ।

अंग्रेजी नयाँ बर्षको अवसर पारेर राजधानीभित्रका आठवटा शाखाहरुमा नमुनाका रुपमा सुरु गरिएको यो सुविधा क्रमशः अन्य शाखामा पनि विस्तार गरिने मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले जानकारी दिइन् ।

‘हामीले ग्राहकहरुको विश्वास जित्दै अघि बढ्दै भन्ने मुलमन्त्र बनाएका छौं । हरेक ग्राहक हाम्रा लागि मुल्यावन हुनुहुन्छ,’ सिइओ खुञ्जेलीले भनिन्, ‘उहाँहरुलाई बैंकमा आउँदा कुनै अप्ठेरो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले हामीले यो सुविधा सुरु गरेका हौँ ।’

‘मेगा कस्टमर केयर अफिसर’ले मेगा बैंकको शाखा कार्यालयमा पुग्ने ग्राहकलाई स्वागत गर्नुका साथै उनीहरुका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैंकका सम्बन्धित शाखासँग समन्वय गर्नेछन् । जसले ग्राहकहरुलाई बिना झण्झट, छिटोछरितो सेवा लिन मद्दत पुग्ने मेगा बैंकको विश्वास छ ।