राष्ट्रिय महिला लिग: चन्द्रपुरलाई हराउँदै वालिङ तेस्रो स्थानमा

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत बिहीबार भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लेको छ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० गोलअन्तरले पराजित गरेको हो। लिगको अन्तिम खेलमा वालिङका लागि हिमा रावत, अमिशा कार्की र विदेशी खेलाडी मेथो रुथले एक एक गोल गरे।

खेलको १७ औं मिनेटमा रावतले गोल गर्दै वालिङलाई अग्रता दिलाइन।

यस्तै खेलको ४७ औं मिनेटमा रुथले तथा खेलको ५४ औं मिनेटमा कार्कीले वालिङका लागि गोल गरिन। वालिङले १२ खेलमा १७ अंक जोडेको छ। चन्द्रपुर ९ अंक जोड्दै लिगको छैटौं स्थानमा छ।