जाडोमा पनी हुनसक्छ झाडा पखाला

० डा. ललित कुमार मिश्र

जाडो महिनामा लगभग सबैजसो निजी क्लिनिक तथा सरकारी अस्पताल र नर्सिङहोमहरुमा विन्टर डायरिया अर्थात हिउँदमा हुने झाडापखालाले पीडित बिरामीको चाप निकै बढेको हुन्छ । जसमा नवजात शिशु र कम उमेरका बालबालिकाको सँख्या बढी हुन्छ । गर्मियाममा हुने झाडापखाला त्यति खतरनाक हुँदैन जति जाडोमा हुने डायरियाबाट खतरा हुन्छ । जाडोमा डायरिया हुने मुख्य कारण चिसो लाग्नु हो ।

हिऊँदमा चिसो अत्यधिक हुन्छ, झन तराईतिर त शितलहरनै चल्छ । जाडोको मौसम सुरुहुने बित्तिकै ‘रोटावायरस’ अत्यन्त सकृय हुन्छ । जाडोयाममा हुने डायरिया रोटावायरसको कारणले गर्दा हुन्छ । हुन त जाडोको सिजनलाई स्वास्थ्यको दृष्टिकोणले रोगरहित मानिन्छ। जे खाएपनि सजिलैसित पच्छ । हतपत रोग लाग्दैन । तर यस्ता बालबालिकाहरु जो शारीरिक रुपले कमजोर हुन्छन, उनीहरुमा रोगसँग लडने प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ । यस्ता बालबालिकाहरुलाई संक्रमणको संभावना बढि रहन्छ। यिनीहरु प्रायगरी जाडोको मौसममा हुने झाडापखाला अर्थात विन्टरडायरियाको चपेटामा चाडै आइहाल्छन ।

प्रायः डायरिया (झाडापखाला)मा सामान्य पृकसन राखेमा एक सप्ताहमा आफै ठिक हुन्छ । यसकोलागि कुनै औषधिको आवश्यकता पर्दैन । तर डायरिया सप्ताह दिन भन्दा बढिरहयो भने यसलाइ कर्निक डायरिया भनिन्छ । यसको उपचार समयमा गरिएन भने यो खतरनाक पनि हुनसक्छ । तर अलिकति सावधानी अपनाएमा यो समस्यालाई निको पार्न साकिन्छ । यदि डायरियाको समुचित उपचार गरिएन भने जलबियोजन (डिहाइड्रेसन) शरीरमा पानीको मात्रा कम) हुनसक्छ। शरीरमा पानीको मात्रामा कमी हुनगई बिरामीको मृत्यु पनि हुनसक्छ ।

जलवियोजनस: झाडापखाला लाग्नु भनेको (शरीरको एक अस्वस्थ्य अवस्थाहो । जसरी प्वालपरेको गाग्रोबाट पानी चुँहिएर गाग्रोको पानी घटदै गए झै, मानिसको शरीरबाट पानी झाडापखालाको माध्यमले खेरगई पानीको मात्रा घटनजान्छ र ऊ बिरामी हुन्छ । यस्तो हुदाँ पानीसगं नुन र अन्य तरलपदार्थ बाहिर निस्किनुका साथै शरीरको तागत पनि खेरजाने हुन्छ, यस प्रकृयालाई जलवियोजन (डिहाईड्रेसन) भनिन्छ।

० पहिचानः जलवियोजनको अवस्था थाहा पाउने तरिका :
क– बिरामी तथा उसको अभिभावकसँग सोध्ने : पखाला कहिलेदेखि लागेको थियो । दिसामा रगत पनि मिसिएको थियो कि ? तिर्खा कतिको लाग्छ ? बच्चा रुदाँ आँसु आउँछ कि आउँदैन ?
ख – बिरामीलाई हेरेरः बिरामिको अवस्था कस्तोछ ? चनाखो छ कि धैरै अस्वस्थ्य छ ? बेहोस छ कि ? रुदाँ आँसु आउँछ कि आउँदैन ? आखाँ भित्र गाँडिएको छ कि ? मुख, ओठ, जिब्रो सुख्खा छ कि ?
ग– बिरामीलाई छामेरः पेटको छाला तानेर छोडदा तुरन्तै फर्किन्छ कि बिस्तारै फर्किन्छ।
उपरोक्त बिधिअनुसार डिहाईड्रेसनको स्थिति कस्तो छ ? सामान्य वा कडा खालको के छ भन्ने सजिलैसित पहिचान गर्न सकिन्छ।
० जलवियोजनका लक्षणंहरुः
बैचैनहुनु, झर्कोमान्ने, आखाँभित्र गाडिएको हुनु, आँखामा आँसु न हुनु तथा आखाँ सुख्खाहुनु, मुख तथा जिब्रो सुख्खा भएको हुनु, अत्यधिक तिर्खाएको, (पानी पिउँदा हतार–हतार गरी पिउनु) छाला तानेर छोडदा बिस्तारै फर्किन्छ । आदी

० डायरीयाबाट बच्ने उपाए : दिसा गरिसकेपछि साबुनपानीले हात धुने वा धोइदिने बानी बसाल्ने । खानाखानुभन्दा अगाडि साबुनपानीले हात धुने । फलफुल तथा हरियो सागपात राम्रोसँग धोईपखाली खाने । खानेकुरालाइ छोपेर राख्ने।

० के गर्ने : बिरामीलाई जीवनजल दिइरहने। बच्चा भए आमाको स्तनपान जारी राख्ने । खाना बन्द नगर्ने, बरु हुनसक्छ भने बच्चालार्इ नरम खाद्यय पदार्थ जस्तै : केरा, उसिनेको आलु मुछेर खान दिने।

० याद राख्नुस : डायरियाको रोगीलार्इ उपचार गर्दा जलवियोजनको लागि वर्गिकरण गर्नुपर्ने हुन्छ । यदि दिशामा रगत आइरहेको छ भने यो रक्तमासि (डिसेन्टरी) हुनसक्छ । जहाँ गम्भिर डिहाईड्रेसनको अवस्था छ भने रोगीलाई स्लाइन पानी नशाबाट चढाउनुपर्ने हुन्छ । यस स्थितिमा तुरन्तै नजिकको स्वास्थ्यसँस्था या नर्सिगंहोममा लानुपर्ने हुन्छ।

० के नगर्ने : बच्चालाई ग्लुकोज या चिनी पानीको झोल मात्र नदिने। मात्र ग्लुकोजको झोल दिँदा शिशुको पेटमा ग्यास उत्पन्न हुन्छ, जसलेगर्दा वेक्टेरिया संक्रमणको संभावना बढेर जान्छ। यस्ता तरलपदार्थ पनि नदिने जसमा केफिनको अंशहोस । जस्तै ः कोकाकोला, कफि आदि। यसरी नै डायरियाको रोगीलाई आमाको दुधबाहेक बाहिरी दुध तथा दुधबाट बनेको परिकारहरु पनि दिनुहुदैन।

० कुनै एउटा रोज्नुस : घरमा तयार पारेको नुन, चिनी र पानीको झोल या मेडिकलहलमा पाइने जीवनजलको पुडिया । घरमा तयार गर्दा अप्ठेरो के छ भने सहि अनुपातमा नुन र चिनीको मिश्रण नहुनसक्छ । यात नुनको मात्रा बढि हुनजान्छ या चिनीको अनुपात बढि हुन्छ। यी दुबै अवस्था शिशुकोलागि हानिकारक हुन्छ। यदि तपाई बसेको ठाउँमा जीवनजलको पुडिया उपलब्ध छैन भने त्यसअवस्थामा घरमै बनाएको नुन, चिनी, पानी को झोल पनि फाइदाजनक हुन्छ।

० उपचार : जलबियोजन हुन नदिन बच्चालाई सँधैको भन्दा बढि मात्रामा झोलिय पदार्थ ख्वाउनुपर्छ । झाडापखाला नथामिए सम्म झोलिय तरलपदार्थ दिन जरुरी हुन्छ । प्रत्येकपटक पातलोदिशा गरेपछि जीवनजल दिनुपर्छ । जीवनजलको मात्रा २ देखि १० बर्षसम्मका लागि १०० देखि २००मिलि र १० वर्ष भन्दा माथीकालाई बिरामीले चाहे जति दिने । डायरिया लागेको विरामीको उपचारको मुख्य उद्देश्य जलवियोजन हुन नदिइ रोगीको प्राण बचाउनु हो । पुनर्जलीय प्रकृयाबाट जलवियोजनको उपचार भएमा झाडापखालाका बिरामीहरु आफै ठिक हुन्छन। त्यसकारण झाडापखाला लागेको बिरामीको लागि पुनर्जलीय उपचार नै सबैभन्दा महत्वपुर्ण उपचारहो। बिरामीलाई कसरी र कतिसम्म पुनर्जलीय उपचार गर्ने भन्ने कुरा बिरामीको शारीरिक अवस्था र जलवियोजनको स्थितिमा भरपर्छ । त्यसैले पहिले बिरामीको स्थितिको लेखाजोखा गर्नुपर्दछ र सोहिअनुसारको उपचारगर्नुपर्ने हुन्छ।

० स्वास्थ्यसंस्थामा लग्नुपर्ने अवस्था : धैरैपटक पातलोदिशा गरेमा, राम्ररी खान व पिउन नसकेमा, तारन्तार बान्ता गरेमा, ज्वरोआएमा, ज्यादै तिर्खाएको अवस्था भएमा, दिसामा रगत देखिएमा ।

(लेखकः आस्था होमियोप्याथीका संचालक तथा होमियोप्याथी विशेषज्ञ हुन्)

Mishradr.lk@gmail.com